सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयरलाई पक्राउ गर्न ‘रेडकर्नर नोटिस’, कोषाध्यक्ष पक्राउ

काठमाडौं– सहकारीका बचतकर्ता विभिन्न बैंकको अरबौं रुपैयाँ ठगी गरेरे भागेको आरोपमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न ‘रेडकर्नर नोटिस’ जारी भएको छ। नेपालीले सहकारीका बचतकर्ताको डेढ अर्ब र बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप छ।

नेपाली र उनकी श्रीमती तिब्बती मूलकी छेला नेपालीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले संसारभरका प्रहरीहरूको अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)मार्फत ‘रेड कर्नर नोटिस’ जारी गरेको हो। फरार रहेका उनी विदेशमा रहेको अनुमान गरिएको छ।

बागलुङका डिएसपी मदन केसीले नेपाली दम्पत्तीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको बताए। सहकारीको रकम हिनामिनामा नेपाली र उनकी श्रीमतीसहित ८ जनाविरुद्ध मुद्दा चलिरहेको छ। तर, अध्यक्ष नेपाली भने गत बैशाखदेखि नै फरार छन्। उनी इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थिए।

उनीहरूविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए। उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा सङ्गठित ठगीको मुद्दा दायर गरेका छन्। उनीहरूविरुद्ध अदालतले जेठमै पक्राउ पुर्जी जारी गरेको थियो। तर उनीहरू भने वैशाख ६ गतेदेखि नै तरलता अभावले सहकारी बन्द भएको भन्दै सूचना टाँसेर फरार भएका थिए।

इजेज बचत तथा सहकारी संस्थाकी कोषाध्यक्ष बागलुङको निसिखोला गाउँपालिका–३ बस्ने २७ वर्षीया लक्ष्मी सेन सुनारलाई भने प्रहरीले शुक्रबार ललितपुरको धोबीघाटबाट पक्राउ गरेको छ। पक्राउ परेकी लक्ष्मीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बागलुङको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए।

सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। जसमध्ये ५ जना पक्राउ परिसकेका थिए। पक्राउ पुर्जी जारी भएकामध्ये चित्रबहादुर भण्डारी, लालमति रोका, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगरलाई प्रहरीले यसअघि नै पक्राउ गरी मुद्दा चलाइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट