राष्ट्रपतिबाट प्रबल जनसेवाश्री चतुर्थबाट विभुषित भएको १० दिनमै पक्राउ परेकी अधिकृत घुस्याहा प्रमाणित

काठमाडौं– राष्ट्रपतिबाट तक्मा थापेकी मालपोत अधिकृत लेखा पनेरु महत घुस्याहा प्रमाणित भएकी छिन्।
विशेष अदालतले शुक्रबार लेखालाई घुस प्रकरणमा दोसी प्रमाणित गर्दै ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको छ।
ताप्लेजुङ मालपोतकी तत्कालीन अधिकृत लेखालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ वैशाख ०७९ मा १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो।
महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ताप्लेजुङको फुङलिङ नगरपालिका–४, कोप्चेबाट अख्तियारले नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नु १० दिनअघि मात्रै निजामती सेवामा रहेर नागरिकको हित अभिबृद्धीको लागि गरेको योगदानको उच्च कदर गर्दै महतलाई प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभुषित गरिएको थियो।
१ वैशाख ०७९ मा संविधान दिवशका दिन राष्ट्रपति बिद्यादेवी भण्डारीले महतलाई विभुषित गरेकी थिइन्।