श्रीनिवासपछि जेनजी सहिद परिवार पनि धितालविरुद्ध, ‘अपमान’ गरेको भन्दै सार्वजनिक माफी माग्न चेतावनी
काठमाडौँ– जेनजी सहिदको स्मृति दिवसलाई लिएर सुरु भएको विवाद अझै वल्झिँदै गएको छ। कार्यक्रमका विषयमा रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर सुरु भएको विवादमा धर्मगुरु श्रीनिवासपछि जेनजी सहिद परिवार र घाइतेहरू पनि प्रत्यक्ष रूपमा जोडिएका छन्।
धितालको अभिव्यक्तिले सहिद परिवार र घाइतेहरूको त्याग तथा बलिदानको अपमान गरेको भन्दै जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले सोमबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनसहित पत्रकार सम्मेलन गरी सार्वजनिक माफी माग्न माग गरेका छन्।
जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले धितालको अभिव्यक्ति सहिद परिवार र आन्दोलनका क्रममा घाइते भएकाहरूको भावनाविपरीत रहेको बताएका हुन्। उनीहरूले आन्दोलनका सहिद र घाइतेको पीडालाई हल्का रूपमा लिँदै सार्वजनिक पदमा रहेकी सांसदबाट तल्लोस्तरको अभिव्यक्ति आएको दाबी गर्दै त्यसप्रति आपत्ति जनाए।
सहिद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले सहिद परिवारलाई अहिलेसम्म कुनै प्रकारको सहयोग वा साथ नदिएको अवस्थामा उल्टै उनीहरूको भावनामाथि चोट पुग्ने अभिव्यक्ति दिने अधिकार कसैलाई नभएको बताए। उनका अनुसार सहिद परिवारले आफ्ना सन्तानको बलिदानलाई राजनीतिक वा मनोरञ्जनको विषय बनाइएको स्वीकार गर्न नसक्ने बताएका छन्।
गौतमले जेनजी सहिद प्रथम स्मृति दिवसलाई ‘कन्सर्ट’को शैलीमा मनोरञ्जनसँग जोडेर आलोचना गरिएको भन्दै त्यसप्रति पनि असन्तुष्टि जनाए। राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले सहिद परिवार र घाइतेको पीडालाई केन्द्रमा राख्नुपर्नेमा कार्यक्रमको स्वरूप र अभिव्यक्तिले पीडित परिवारको भावनामा थप चोट पु¥याएको उनको भनाइ छ।
यो विवाद धितालले २३ भदौ २०८३ मा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा आयोजित जेनजी सहिद स्मृति कार्यक्रमको स्वरूपमाथि प्रश्न उठाएपछि सुरु भएको थियो। रास्वपाकी सचेतक धितालले सामाजिक सञ्जालमार्फत कार्यक्रमको मञ्च निर्माण, धर्मगुरुहरूको उपस्थितिसहित आयोजनाको शैलीप्रति असन्तुष्टि जनाउँदै कार्यक्रम देखेपछि आफु ‘अवाक’ भएको बताएकी थिइन्। उनले सहिद र घाइतेहरूको अपमान भइरहेको महसुस भएको भन्दै सहिद परिवारको पीडा कार्यक्रमले कसरी सम्बोधन ग¥यो भन्ने प्रश्न उठाएकी थिइन्।
धितालले कार्यक्रममा सहभागी धर्मगुरुहरूको उपस्थितिको औचित्यमाथि समेत प्रश्न गरेकी थिइन्। उनको अभिव्यक्तिपछि कार्यक्रमका आयोजकले धर्मगुरुहरूलाई आफूहरूले नै निमन्त्रणा गरेको बताएका थिए। आयोजकका सचिव रोशन गौतमले उनीहरूको पृष्ठभूमिबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए।
धितालको उक्त अभिव्यक्तिप्रति धर्मगुरु आचार्य श्रीनिवासले २८ भदौ २०८३ मा सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै आफूलाई ‘विवादित गुरु’ भनिएकोमा आपत्ति जनाएका थिए। उनले रास्वपाका सांसद अमरेशकुमार सिंह र सचेतक धिताललाई लक्षित गर्दै राजनीतिक नेतृत्व जनताप्रति जवाफदेही हुनुपर्ने बताएका थिए।
धिताललाई लक्षित गर्दै श्रीनिवासले रास्वपाको चुनावी लहर र बालेन्द्र साहको प्रभावका कारण नयाँ सांसदहरू निर्वाचित भएको टिप्पणीसमेत गरे। उनले धिताललाई ‘चाउचाउको पोकामा चिट्ठा परेजस्तो, घण्टी छाप र बालेनजीको ह्विममा चुनाव जितेर आउनुभयो’ भन्दै आफूहरूलाई ‘विवादित गुरु’ भन्नुअघि सांसदहरूले समाजमा गरेको योगदानको हिसाब देखाउनुपर्ने बताएका थिए।
आफूले विद्यालय, अस्पताल, एम्बुलेन्स, कलेज, खानेपानीलगायत सामाजिक सेवाका क्षेत्रमा काम गरेको दाबी गर्दै श्रीनिवासले सांसदहरूलाई त्यस्ता कामको विवरण देखाउन चुनौती दिए। उनले धर्म, भागवत वा यज्ञका नाममा कसैलाई ठगी नगरेको दाबीसमेत गरेका थिए।
यसरी एउटै स्मृति कार्यक्रमलाई लिएर सुरु भएको विवादमा पहिले रास्वपा सचेतक धितालले कार्यक्रममाथि प्रश्न उठाइन्, त्यसको प्रतिवादमा धर्मगुरु श्रीनिवासले धितालमाथि आक्रामक टिप्पणी गरे र त्यसको भोलिपल्टै सहिद परिवार तथा घाइतेहरूले धितालको अभिव्यक्तिविरुद्ध सार्वजनिक रूपमा आपत्ति जनाएका छन्। विवादले जेनजी आन्दोलनका सहिदहरूको स्मृति कार्यक्रमको स्वरूप, त्यसमा सहभागी व्यक्तिहरू र सहिद परिवारप्रतिको राजनीतिक तथा सामाजिक व्यवहारमाथि नयाँ बहससमेत जन्माएको छ।

