विवाहको प्रश्ताव अस्विकार गर्दा ढुङ्गाले हानेर ५० वर्षिया महिलाको हत्या

दमक– विवाहको प्रश्ताव अस्विकार गर्दा झापामा एक ५० वर्षिया महिलाको हत्या भएको छ। बिर्तामोड नगरपालिका–५ बस्ने माया पुलामी मगरको हत्या भएको हो।
इलामको माई नगरपालिका–१ महमाई माइतीघर भएकी मायाँको हत्या अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका–८ गरामनी घर भएका ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरेको छ।
प्रसाईँ त्यही नगरपालिका–५ मा डेरा गरी बस्नेको प्रहरीले जनाएको छ। झापाको अर्जुनधारा नगरपालिका–६ स्थित बिहानी टोलमा ८ माघमा मायाँ मृत भेटिएकी थिइन्। रोड नम्बर १६ भित्री सडकको दक्षिण किनारा स्थित बिग ब्रदर कबडहल अगाडि उनको शव फेला परेको थियो।
उक्त घटनाको अनुसन्धानका क्रममा घटनामा प्रसाईको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बिग ब्रदर कबडहलको ढोका छेउमा बसी कुराकानी गर्ने क्रममा प्रसाईले मायाँलाई विवाहको प्रस्ताव राखेका थिए। सोही क्रममा माया पुलामीले प्रसाईको दाहिने आँखामा हातले हानेको र त्यही रिसमा ढुंगा प्रहार गरी उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ।
प्रसाईविरुद्ध झापा जिल्ला अदालत भद्रपुरबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।