स्पिनर सुवास भण्डारीपछि नेपाली ओपनर अर्जुनलाई पनि आईसीसीले ग-यो कारबाही
काठमाडौं– नेपाली यू–१९ का ओपनिङ ब्याट्सम्यान अर्जुन कुमाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कारवाहीमा परेका छन्।
बंगलादेशका बलर मारुफ मृधालाई विकेटको बीचमा कुहिनोले हानेको आरोपमा आईसीसीले कुमाललाई कारवाही गरेको हो। आईसीसीको आचार संहिता २.१२ उल्लंघन गरेका कारण उनी कारबाहीमा परेका हुन्।
दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा बंगलादेश विरुद्धको खेलका क्रममा भएको गल्तीका कारण उनी कारवाहीमा परेका हुन। नेपालले ५ विकेटले गुमाएको बंगलादेश विरुद्धको त्यो खेलको छैटौं ओभरमा कुमाल दौडेर रन पूरा गर्ने क्रममा प्रतिपक्षी खेलाडीलाई कुहिनाले लागेको थियो।
आईसीसीले अर्जुनलाई तीन डेमेरिट प्वाइन्ट दिएको छ। डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा रहनेछ। कुनै खेलाडीले २४ महिना भित्र ४ डेमेरिट प्वाइन्ट पाएमा २ खेलको प्रतिबन्धको सामना गर्नुपर्ने हुन्छ।
यसअघि पाकिस्तान विरुद्धको खेलका दौरान भएको गल्तीका कारण स्पिनर सुवास भण्डारी पनि कारबाहीमा परेका थिए। समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल यू–१९ को सुपर सिक्समा पुगेको थियो। सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेश विरुद्ध ५ विकेटले पराजित भएको थियो।