ललितपुर अदालतको गाईजात्राः सेवाग्राहीलाई गेटमै पाइन्ट खोलाएर ट्राउजरमा अदालत घुमायो

काठमाडौं– सभ्यता सिकाउने नाममा सोमबार ललितपुर जिल्ला अदालतमा अनौठो घट्ना घटेको छ। अदालतका कर्मचारीले सम्पूर्ण मर्यादा भुलेर एक जना सेवा ग्राहीलाई गेटमै पाईन्ट खोलाएर ट्राउजरमा मात्रै अदालतको शयर गराएका छन्।
यो घट्ना सुनसरीको धरानका अनिश श्रेष्ठसँग भएको हो। अदालतमा उनको अंश सम्वन्धि मुद्दा छ। सोमवार उनी भित्रबाट ट्राउजर र बाहिर थोरै ग्रन्च भएको (स्टाईलका लागि च्यातिएको) जिन्स पाइन्ट लगाएर अदालतमा पुगेका थिए।
अदालतको गेटमा खटिएका सुरक्षाकर्मीले च्यातिएको पाइन्ट लगाएर भित्र जान नपाइने भन्दै उनलाई रोके। अनिशलाई रोकेपछि उनका वकिल अधिवक्ता दिनेशराज सत्यालले भित्र गएर स्रेस्तेदार दुर्गाप्रसाद भट्टराई समक्ष गुनासो सुनाए।
आफ्ना सेवाग्राहीलाई ग्रन्च पाइन्ट लगाएका कारण प्रहरीले रोकेकोले भित्र आउन अनुमति दिन आग्रह गरे। तर, भट्टराईले सहजिकरण गर्नुको सट्टा उल्टै कपडा फेरेर आउन आदेश दिए। ‘घर धरान हो, घर गएर अर्को कपडा लगाएर आउन सम्भव छैन’ भन्दा ‘कपडा छैन भने के गर्ने ?’ भन्दै जवाफ दिए।
नयाँ पाइन्ट किन्न पुग्ने पैसा पनि नभएपछि आफूलाई पाइन्ट खोल्न लगाएर जाडो छल्न लगाइएको ट्राउजरमा मात्र भित्र छिर्न दिइएको अनिशले बताए। सेवाग्राहीलाई लुगा फुकाल्न लगाउने अदालतका कर्मचारीको अहिले आलोचना भईरहेको छ।
अधिवक्ता सत्यालले पनि फेसबुकमा लेखेका छन्, ‘भित्री ट्राउजर लगाएर अदालत छिर्दा अमर्यादित पोशाक भएन। के यो सही हो? हामी, हाम्रो अदालत मर्यादित भएको हेर्न चाहन्छौं। हाम्रा तर्फबाट अदालतको मर्यादामा आँच आउन पनि दिँदैनौं। अदालत मर्यादित संस्था हो, मर्यादित रहनुपर्छ।’
सेस्त्रेदार भट्टराईले भने यस विषयमा प्रतिक्रिया दिएका छैनन्। अदालतका प्रवक्ता राम सजिवन महतोले भने च्यातिएको पाइन्ट, वान पिस ड्रेस लगाएर भित्र छिर्न नदिने गरिएको बताए।
सेवाग्राहीलाई गेटबाहिर लुगा फुकाल्न लगाउनु अदालतको ‘मर्यादित’ काम हो त? भन्ने प्रश्नमा एक कर्मचारीले भने, ‘अदालतका कर्मचारीले डेकोरम कायम गराउनु एउटा कुरा हो। अदालत बाहिर प्रहरीले लुगा फुकाल्न लगाउनु त कमजोरी हो।’
अधिवक्ता दिनेशराज सत्यालको फेसबुक स्ट्याटस र भीडीओ हेर्न तलको फोटोमा क्लिक गर्नुहोस।