बसबाट ओर्लने क्रममा आमाको हातबाट छुटेर भुईमा बजारिँदा २ वर्षिया बालिकाको मृत्यु
बारा — बारामा बसबाट ओर्लिने क्रममा आमाको हातबाट छुटेर भुईमा खसेकी २ वर्षिया बालिकाको मृत्यु भएको छ। सुवर्ण गाउँपालिका–३ सतगंजमा बुधवार भएको दुर्घटनामा बालिकाको मृत्यु भएको हो।
कलैयाबाट सतगंजतर्फ जाँदै गरेको ना ३ ख ९९९० नम्बरको यात्रुबाहक बसबाट ओर्लने क्रममा कलैया उपमहानगपालिका–८ मदर्सा टोलका मुना साहकी छोरीको मृत्यु भएको हो। उपचार गर्न नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
बालिकासहित उनकी आमा सतगंजसँगै जोडिएको भारतीय गाउँस्थित मामाघर जाँदै थिइन्। घटनापछि बालिकाको मामा घरबाट आएका आफन्त र भारतीय गाउँ छौडादानोका स्थानीय बासिन्दाको समुहले बसमा समान्य तोडफोड गर्दै दसगजामा केहीबेर नाराबाजी गरेका थिए।
बालिकाको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले बसका चालक ४० बर्षीय मुरारी चौधरी र बसलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनसुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दधिराम न्यौपानेले बताए।