क्यानडामाथि नेपालको ७ रनको सनसनीपूर्ण जित, रोहित एक्लैले लिए ४ विकेट

काठमाडौं– एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित निकाल्दै तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ। आजको जीतका लागि नेपालका रोहित पौडेलले ४ विकेट लिए।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२४ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले नौ ओभरमा ४८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। आसिफलाई उदय भगवानले ८ रनमा आउट गरे। रोहित पनि टप एज लागि ८ रनमै आउट भए।

भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो सातौं अर्धशतक बनाए। उनले ५८ बल खेली ९ चौका र १ छक्कासहित ६२ रन बनाए। भीम सार्की २६ बल खेली २ चौका प्रहार गरि १७ र कुशल मल्ल ३२ बल खेली १ चौका र १ छक्का प्रहार गरि २० रनमा आउट भए।

आरिफ शेख र पवनले छैटौं विकेटमा ३२ रनको साझेदारी गरे। राष्ट्रिय टोलीमा फर्किएका पवनले ३४ बल १ चौका प्रहार गरी १५ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर हो। लगातार दुई चौका प्रहार गरेका आरिफ त्यसपछिको अर्को बलमा भगवानको बलमा इन साइड एज लागेर बोल्ड भए। आरिफले ५० बल खेली ४ चौका प्रहार गरि ३८ रन बनाए।

सोमपाल कामी र सूर्य तामाङले आठौं विकेटमा ३७ रनको साझेदारी गरी नेपाललाई सम्मानजनक स्कोरमा पु¥याए । सोमपालले १ चौका र २ छक्का प्रहार गरी २३ बलमा २७ रन बनाए। सूर्य १० रनमा अविजित रहे। रिजन ४ र ललित राजवंशी १ रन बनाई लगातार बलमा आउट भए।

क्यानडाबाट भगवानले ८ ओभरमा १ मेडन राख्दै ४० रन खर्चेर ३ तथा कप्तान साद बिन जाफर र इश्वरजोत सोहीले २÷२ विकेट लिए। २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो। क्यानडाका निकोलश किर्टोन र पारगत सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट