विराटनगरका कुख्यात मिटरब्याजी सुनिलकुमार साहविरुद्ध सीडीओ कार्यालयमा उजुरी

विराटनगर– विराटनगरका कुख्यात मिटरब्याजी ५३ वर्षीय सुनिलकुमार साहविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ।

विराटनगर–१८ ‘दमादिगी’ गाउँका ६ जना पीडितहरूले विराटनगर–१८ का साहविरुद्ध उजुरी दिएका हुन्। ४८ वर्षीय दिलिपकुमार अमात, ६८ वर्षीय महेशलाल मण्डल, ४५ वर्षीया मीनादेवी मण्डल, ४५ वर्षीय रमानन्द मण्डल, ४५ वर्षीया खिकिरीदेवी साह र ४७ वर्षीय नारयण साहले साहविरुद्ध उजुरी दिएका हुन।

पीडितहरूले मिटरब्याजमा ऋण लगानी गरी गरिबलाई उठिबास लगाउनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र आफुहरुको जग्गा फिर्ता हुनु पर्ने मागसहित प्रशासनमा उजुरी दर्ता गराएको विराटनगर महानगरपालिकाको कानून शाखाकी प्रमुख शारदा थपलियाले बताइन्।

पीडितहरूले पहिला महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए। न्यायीक समितिको क्षेत्राधिकारभित्र नपरेकाले न्यायीक समिति संयोजक शिल्पा निराला कार्कीको पहलमा उनीहरु सीडीओ कार्यालयमा पुगेका हुन।

मोरङका सीडीओ प्रेमप्रसाद भट्टराईले उजुरी दर्ता भएकोले थप प्रक्रिया अगाडि बढाउने बताए। ‘आइतबादेखि प्रक्रिया अगाडि बढ्छ’ उनले भने, ‘पहिलो चरणमा दुवै पक्षबीच छलफल हुन्छ। छलफलबाट सहमति भए उजुरीको प्रक्रिया टुङ्गिन्छ। नभए जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी पठाइन्छ र थप अनुसन्धानपछि कारबाहीको प्रक्रिया अगाडि बढ्छ।’

यता, मिटरब्याजी साहले ऋण लिएको रकम समयमै नदिएको भन्दै दिलिपकुमार महतको १० कठ्ठा जग्गा बिक्री गरिदिएका छन् । दिलिपले चार वर्षअगाडि ६ लाख रुपैयाँ ऋण लिएका थिए। ६ लाख ऋणको तीन लाख रुपैयाँ बुझाएका थिए। ढिलो कर्जा तिरेको भन्दै विराटनगर–१८ मा रहेको कित्ता नं. ३१७ र ३१६ को १० कठ्ठा जग्गा बेचिदिएको उनको गुनासो छ। अहिले २२ लाख रुपैयाँ बुझाए मात्र जग्गा फिर्ता गर्ने साहले बताएको महतले वताए।

यसैगरी रमानन्द मण्डलले ४ कठ्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्षअगाडि २ लाख रुपैयाँ ऋण लिएका थिए। उनले १ लाख ८० हजार सुनिललाई सावाँ र ब्याज तिर्दैछन्। उनलाई अझै सुनिलले ८ लाख बुझाएमात्रै ४ कठ्ठा जग्गा फिर्ता दिने बताउँदै आएका छन्। यस्तै नारायण साह, लक्ष्मीदेवी साह, महेशलाल मण्डल, खिकिरीदेवी साहलगायत पनि सुनिलको मिटरब्याजको चक्करमा पिसिएका छन्।

मोरङमा हालसम्म २५० जना मिटरब्याज पीडितले उजुरी दिएका छन्। जसमध्ये ९७ वटा उजुरीमा मिलापत्र भएको सीडीओ कार्यालयले जनाएको छ। दुई दर्जन बढी निवेदन दुबै पक्षबीच सहमति हुन नसकेपछि अदालत पठाइएको छ। अन्य उजुरीहरू विचाराधीन छन्।

प्रशासनमा रहेको २२ साउनसम्मको अभिलेख अनुसार दर्ता भएकामध्ये १७३ जना पीडितले सावा र ब्याज तिरसक्दा पनि १४ करोड ९१ लाख ७२ हजार ७ सय रुपैयाँ बढी रकम तिर्नुपर्ने मिटरब्याजीको दबाब छ। जसमध्ये पनि १९ जना पीडितले १० लाख लिएको रकम ३५ लाखसम्म दिनुपर्ने दवाव छ।

३५ लाखभन्दा बढी तिर्नुपर्ने १९ जना पीडितले ३ करोड २९ लाख ८४ हजार ७ सय रकम दिनुपर्ने मिटरब्याजीहरूको दबाब छ। यसैगरी २९ जना पीडितले सावा र ब्याज तिरिसक्दा पनि ७ करोड ३७ लाख ५ हजार तिनुपर्ने दकाब छ। उक्त उजुरीको विषयमा छिट्टै छिनोफानो गर्ने गरी काम अगाडि बढिरहेको सहायक सीडीओ प्रदिपकुमार साहले बताए।


प्रतिक्रिया

One thought on “विराटनगरका कुख्यात मिटरब्याजी सुनिलकुमार साहविरुद्ध सीडीओ कार्यालयमा उजुरी

  1. चोर, ठग, लुटेरा, शोषक, पीडक, डाका, बलात्कारी, हत्यारा आदि अपराधीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गर्ने प्रसंगमा तिनलाई नचिनिनेगरी मुखमा पट्टी वा आँखा मात्रै देख्नेगरी टाउकोमा कपडाले छोप्न पाउने छुट दिनु वा त्यस्ता अपराधीको फोटो सार्वजनिक गर्दा पनि आँखामा पट्टी बाँधेजस्तोगरी नचिनिनेगरी कालो वा सेतो पोत्नुको तुक के हो ?
    मैले आजसम्म भेउ नपाएको/नजानेको विषय हो यो !
    त्यसो गर्न प्रहरीले नै अह्राउँछ कि त्यसो गर्ने सम्बन्धितलाई प्रहरीले छुट दिएको हो ?
    तर किन ? यसरी अपराधीमैत्री काम किन भइरहेको छ ?
    जुनसुकै खाले अपराधीलाई समाजले चिन्नेगरी तिनको थोपडा चिनाउँदा अपराध नियन्त्रणमै सघाउ पुग्ने हैन र ?
    किनभने, त्यस्ता अपराधी चिनिएपछि मान्छेले सतर्क हुन पाउँछ । अरुलाई पनि सजग गराउन सक्छ ।
    अपराधीहरु त सार्वजनिक रुपमै चिनाइनु पर्दछ नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट