टी– २० त्रिकोणात्मक सिरिज आजदेखि सुरु, पहिलो खेलमा नेपाल नामिबियासँग भिड्दै
काठमाडौँ– नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक टी–२० सिरिज आजदेखि शुरु हुँदैछ। पहिलो खेलमा नेपाल आज नामिबियासँग खेल्दैछ। विश्वकप लिग–२ को समापनपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले नामिबियासँग खेल्न लागेको हो।
खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजे हुने छ। आइसीसी क्रिकेट विश्वकप लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी–२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपालले आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीको सुरुवातको रुपमा यो सिरिजलाई लिएको छ।
आइसीसीको टी–२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ। नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १५औँ स्थानमा र नेपाल १६औँ स्थानमा छ।
यस सिरिजका लागि नेपालले १८ सदस्यीय टोली घोषणा गरेको छ। ओडीआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफलाई टोलीमा राखिएको छैन। प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा भने टोलीमा थपिएका छन्।
खेल तालिका
– नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार।
– नेपाल भर्सेज नेदरल्याण्ड्स, फागुन १६ गते बुधबार।
– नामिबिया भर्सेज नेदरल्याण्ड्स, फागुन १७ गते बिहीबार।
– नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार।
– नेपाल भर्सेज नेदरल्याण्ड्स, फागुन १९ गते शनिबार।
– नामिबिया भर्सेज नेदरल्याण्ड्स, फागुन २० गते आइतबार ।
फाइनल, फागुन २२ गते मंगलबार।