निजगढमा ३ जनाको ज्यान जाने गरी विस्फोट भएको बस्तु ग्यास सिलिन्डर नभएको खुलासा

जनकपुर– बाराको निजगढ नगरपालिका–७, निजगढ बजारमा हालसम्म ३ जनाको ज्यान जाने गरी भएको विस्फोट शंकास्पद देखिएको छ। रेशम मगरले सञ्चालन गर्दै आएको रोहित वर्कसप (लेथ) मा सोमबार दिउँसो ठूलो विस्फोट भएको थियो।

विस्फोटमा परेर अहिलेसम्म वर्कसप सञ्चालक निजगढकै ४५ वर्षीय रेशम मगर, भारतको गवाई घर भएका ३५ वर्षीय राकेश जैसवाल र वीरगञ्जका २० वर्षीय रितु रजतको मृत्यु भइसकेको छ। भने ३ जना घाइते छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। सुरुमा प्रहरीले वर्कसपमा ग्यास सिलिन्डर विस्फोट भएको आशंका गरेको थियो।

तर, अनुसन्धानका क्रममा त्यहाँ सिलिन्डर विस्फोट नभएको पाइएको बारा प्रहरीले जनाएको छ। बाराका एसपी सुरेश काफ्लेले सुरुमा ग्यास सिलिन्डर विस्फोट भएको अनुमान गरेको तर बुझ्दै त्यहाँ विस्फोट भएको पदार्थ के थियो भन्ने एकिन नभएको वताए।

वर्कसपका सञ्चालक नै विस्फोटमा मरेकाले उक्त घटना अनुसन्धानमै समस्या सिर्जना भएको उनले बताए। विस्फोटक पदार्थ १५ किलोभन्दा धेरै भएको अनुमान छ। शंकास्पद वस्तु किन्ने भारतको मोतिहारी घर भएका ४० वर्षीय जैसवाल र बेच्ने निजगढकै २९ वर्षीय टीकाराम पाख्रिनलाई प्रहरीले पक्राउ गरिसकेको छ।

जैसवालले निजगढमै कबाडी गोदाम सञ्चालन गर्दै आएका छन्। विस्फोटपछि एम्बुलेन्स चढेर भारततिर भाग्दै गरेका जैसवाललाई प्रहरीले सोमबार साँझ बारा सदरमुकामबाट पक्राउ गरेको हो।

प्रहरीले विस्फोटक पदार्थको टुक्रा संकलन गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाईएको छ। नाम नखुलेको झण्डै १५ किलो तौलको त्यो पदार्थलाई लेथमा राखेर काट्ने क्रममा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

कबाडी सञ्चालक जैसवाललले पनि त्यसभित्र निकै तामा छ भन्ने लोभमा किनेको पाईएको छ। लेथमा लगेर त्यसलाई काटेर हेर्ने क्रममा विस्फोट भएको अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट