नेपालगञ्जमा विद्यार्थीका लिलाः क्याम्पस प्रमुख आचार्यको कुर्सी रुखमा
नेपालगन्ज– नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लामणि आचार्यको कुर्सी विद्यार्थीहरुले रुखमा झुन्ड्याई दिएका छन्।
स्वतन्त्र विद्यार्थी युनियनले राखेका माग पूरा नगरेको भन्दै स्ववियुले क्याम्पस प्रमुख आचार्यको कुर्सी रुखमा झुन्ड्याइ दिएको हो। महेन्द्र बहुमुखी क्याम्पस स्ववियुका अध्यक्ष माधव खत्री नेतृत्वको टोलीले क्याम्पस प्रमुखको विरोध स्वरूप कुर्सी रुखमा झुन्ड्याएको हो।
क्याम्पसमा देखिएका विभिन्न समस्या यथाशीघ्र समाधान गर्नुपर्ने भन्दै क्याम्पस प्रशासनसमक्ष विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाउँदा समेत सुनुवाई नभएपछि प्रमुखको कुर्सी रुखमा झुन्ड्याइएको खत्रीले बताए।
विद्यार्थीका माग पूरा नभएसम्म कुर्सी रुखमै झुन्डिने र क्याम्पस प्रमुख आचार्यलाई कार्यकक्ष्मा पस्न नदिने खत्रीले वताए।
विद्यार्थीहरु क्याम्पसमा नियमित पठनपाठन, व्यवस्थित पार्किङ, खेल मैदानको निर्माण, सूचना बोर्ड, शुद्ध खानेपानीको व्यवस्थापन, पुस्तकालय तथा होस्टेलको व्यवस्थापन, शौचालय, कक्षाकोठा तथा क्याम्पस प्राङ्गणको सरसफाइ लगायतका माग राखेका छन्।
यसअघि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनसमक्ष विभिन्न माग राख्दै ७२ घण्टे अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको थियो।