भारतीय ब्यापारी अपहरण गरी नेपालमा फिरौती असुली गर्ने गिरोहका नाईके पक्राउ

विराटनगर– दुई महिनाअघि विहारको सितामढी जिल्ला सोनवर्षा बजारका दुईजना व्यवसायीलाई अपहरण गरेको घटनाका नाईके ४० वर्षीय राजेश भनिने राजन माझीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ, मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त प्रयासमा उनलाई बुधबार पक्राउ गरिएको हो। मोरङको विराटनगर (कञ्चनवारी) स्थित खड्का होटलबाट बुधबार सिंहलाई पक्राउ गरिएको जनाईएको छ।
भारतीय व्यवसायीको अपहरण गरी नेपाली भूमिमा फिरौती असुल्ने गरेको आरोप लागेका माझी अन्य विभिन्न अपराधिक घट्नामा पनि जोडिएको प्रहरीको दावी छ।
प्रहरीका अनुसार गत १६ माघमा भारतको विहार स्थित सोनवर्षा बजारका इँटाभट्टा व्यवसायी ३४ वर्षीय अभिषेककुमार अपहरणमा परेका थिए। उनलाई नेपालमा ल्याएर ३ करोड रुपैयाँबाट बार्गेनिङ गरिएको थियो। अन्तमा ५० लाख भारतीय रुपैयाँ फिरौती लिएर २६ माघमा उनलाई सर्लाहीको संग्रामपुर स्थित नेपाल भारत सीमा क्षेत्रबाट मुक्त गरिएको थियो।
सोनर्षाकै औषधि व्यवसायी कामेश्वर रायको पनि गत १६ मंसिरमा अपहरण गरिएको थियो। उनलाई नेपाल ल्याई ५ दिन राखेर ३० लाख रुपैयाँ भारु फिरौती लिई २१ मंसिरमा मुक्त गरिएको थियो। अपहरणकारीले रायलाई महोत्तरीको सम्सीबाट मुक्त गरेका थिए।
यी दुबै अपहरण घटनामा माझीकै गिरोहको संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। माझीमाथि ४ वटा डाँकाचोरीका मुद्दा अदालतमा छन्। डाँका मुद्दामा नै तिव्र खोजीमा रहेका उनलाई पक्राउ गरेर बिहीबार जिल्ला अदालत मोरङमा पेश गरिएको मोरङ प्रहरीका डीएसपी राजन दाहालले जानकारी दिए।