राष्ट्रिय सभामा भाईलाई अध्यक्ष बनाउने प्रचण्डको रणनीति

काठमाडौं– राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि खाली भएको पदपूर्तीका लागि २९ फागुनमा चुनाव गर्ने तयारी भईरहेको छ।

राजनीतिक दल तथा नेताहरु राष्ट्रिय सभा अध्यक्षका लागि तयारी जुटिसकेका छन्। नेपाली कांग्रेसको शनिवार सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।

विपक्षमा रहेका अन्य दलसँग सहयोगका लागि छलफल गर्ने र त्यसपछि उम्मेदवारको चयन गर्ने योजना कांग्रेसले बनाएको छ। माओवादीसहितको गठवन्धनमा हुँदा कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाका अध्यक्षको उम्मेदवार बनाउने चर्चा चलेको थियो।

तर, प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसँग गठवन्धन बनाएर कांग्रेसलाई प्रतिपक्षमा पुर्याएपछि अवस्था फेरिएको छ। प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनकै कारण चाँडो सत्तारूढ गठबन्धन दलहरू फेर्नुपर्ने दबाब परेको बताएका छन्।

माओवादी संसदीय दलको शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको कारण तत्काल राजनीतिक निर्णय लिनुपरेको बताएका हुन्। सत्ता गठबन्धनबाट माओवादीले उम्मेदवारी दिने सहमति भएको छ।

यही मौकामा उनले भाई नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी गरेको खुलेको छ। एमालेलगायतका दलसँग गठवन्धन गर्दा नै दाहालले यो शर्त राखेको र उनीहरु सहमति भएको जनाईएको छ।

चितवनका नारायण दाहाल यसअघि रामनारायण बिडारीको अवकाशपछि रिक्त भएको स्थानमा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए। उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।

सांसद दाहाल प्रधानमन्त्रीका सहोदर भाइ नभए पनि उनका घनिष्ठ सहयोगी मानिन्छन्। विगतमा पनि विज्ञका रुपमा आफूसँग नजिक राखेर प्रधानमन्त्रीले नारायणलाई सत्ता बाहिर रहन दिएका थिएनन्। यसपटक भने उनलाई संसद्को माथिल्लो सदनको नेतृत्वमा स्थापित गरेर संवैधानिक परिषदमा आफूलाई सहज स्थिति बनाउने उद्देश्य प्रधानमन्त्रीको रहेको बताइएको छ।

राष्ट्रिय सभालाई विज्ञहरूको सभा भनिएपनि दलहरूले आफ्नो नजिकका व्यक्तिलाई अवसर दिने वैकल्पिक थलोको रुपमा विकास गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट