भागेर विवाह गरेको आशंकामा परिवार ढुक्क, एक महिनापछि भेटियो किशोरीको शव

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ निवासी लुच्ची तामाङकी छोरी १८ वर्षीया सुष्मा लामा २२ माघमा अचानक सम्पर्कविहिन भईन। कलेज जान्छु भन्दै हिडेकी उनी खोजतलास गर्दा पनि फेला नपरेपछि परिवारका सदस्यले प्रहरी गुहारे।

परिवारका सदस्य प्रहरीसम्म पुग्दा भने ढिला भईसकेको थियो। वुढानिलकण्ठको सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययन गरिरहेकी सुस्मा अरुबेला पनि कहिलेकाहीँ साथी कहाँ जाने र भोलिपल्ट फर्किएर आउने गर्थिन। त्यसैले परिवारलाई प्रहरीसम्म पुग्न ढिलो भयो। यद्यपी, परिवारले २५ माघमा प्रहरी वृत्त बौद्धमा खोजतलासका लागि जाहेर गर्यो।

प्रहरीकोमा पुगेपछि खोजतलासको गति वढ्यो। ठिक त्यसैबेला सुष्माका साथीहरुको सर्कलमा उनले विवाह गरेको विषय चर्चामा आयो। विवाहको कुरा आएपछि उनको खोजतलास पनि सुस्त भयो। हुँदा हुँदा सुष्मा हराएको एक महिना वित्यो। घर छोडेको एक महिना वितिसक्दा पनि सम्पर्कमा नआएपछि परिवारमा चिसो पस्नु स्वभाविक हो।

विवाह नै गरेको भए पनि यत्रो दिनसम्म सम्पर्कविहिन भएर नवस्नु पर्ने भन्दै उनीहरुले भवितब्य नै पर्यो की ? भन्नेतर्फ पनि आशंका गर्न थाले। गोकर्णेश्वर–३ का वडा सदस्य सचिन लामाका अनुसार त्यहीबीच २४ फागुनको साँझमा गोकर्णेश्वर–३ को तारेभीर माथि शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा स्थानीयले मानिसको हात देखेको चर्चा चल्यो।

जंगल गएका ब्यक्तिले ‘मान्छेको दुई वटा हात देखेको’ भन्दै प्रहरीलाई खबर गरे। प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले बेलुकै गएर रातभरी घटनास्थललाई सुरक्षित राख्यो। २५ फागुनको विहान विशेषज्ञ तथा फरेन्सिक डाक्टरसहित जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले खनेर किशोरीको शव निकाल्यो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनको शव हात खुट्टा डोरीले बाँधेको अवस्थामा भेटिएको छ। शव भेटिएपछि प्रहरीले अनुशन्धान थाल्यो। क्रममा हुलिया, टेलिफोन, कल–डिटेललगायतको विश्लेषण गर्दा फेला परेको शवसुष्माकै भएको पहिचान भएपछि आमा लुच्चीलाई घटनास्थलमा लगेर सनाखत गराएको प्रहरीले जनाएको छ।

त्यसपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। यो घट्नामा अहिलेसम्म प्रहरीले कसैलाई अनुशन्धानको दायरामा ल्याउन सकेको छैन।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट