सामाजिक विकास इकाई राजविराजका सब–इन्जिनियर अजय रजकविरुद्ध अख्तियारको मुद्दा

राजविराज– अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सामाजिक विकास इकाइ कार्यालय राजविराजका सब–इन्जिनियर अजय रजक (अजयकुमार साफी) विरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।

बलान विहुल गाउँपालिका–३ मौवाहा निवासी रजक विरुद्ध भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ७० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) देहाय (ग) बमोजिम कैद सजाय र बिगोबमोजिम जरिवाना सजाय माग गरेर मुद्दा दायर भएको हो।

अख्तियारका अनुसार रजकले भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले ४ साउनमा उनलाई रकमसहित पक्राउ गरेको थियो।

अख्तियारको टोली पुुगेपछि कर्मचारीको भागाभाग भएको थियो। घुसबापत लिई सकेको नगद १५ हजार र ५५ हजार रुपैयाँको चेक फ्याँकेर फरार भएका थिए। त्यसपछि अख्तियारले नगद र चेक नियन्त्रणमा लिएको थियो।

उनी पक्राउ परेपछि सब–इन्जिनियर साफीको करार अवधि नै समाप्त भइसकेको खुलेको थियो। उनी उपभोक्ता समितिसँग ‘पिसी’ उठाउँनका लागि मात्रै कार्यालय पुग्ने गरेका थिए। इकाई प्रमुख दुनियालाल यादवले आफनै गाउँले साफीलाई उनी डेढ वर्षअघि करारमा नियुक्त गरेका थिए। उनको करार अवधी ३१ असारमै समाप्त भएको थियो।

साफी पक्राउ परेपछि पनि पीसी उठाउने काम भने रोकिएन। साफीकै समन्वयमा इकाईका इन्जिनियर रामप्रकाश यादव र इकाई प्रमुख यादवले पैसा उठाउने गरेको स्रोतको दावी थियो। आयोगले इकाई कार्यालयमा छापा मारेपछि इकाई प्रमुख दुनियाँलाल यादवले सब–इन्जिनियर साफीसहित अन्य कर्मचारीको पनि करार अवधि सकिसकेको बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट