माओवादी नेतृत्वप्रति मधेशमा तिव्र असन्तुष्टि, धमाधम पार्टी छोड्दै नेता/कार्यकर्ता

राजविराज– आफु सत्ताको चास्नि नछोड्ने तर जसको काँधमा चढेर सत्तामा पुगेको हो तिनै इमान्दार नेता/कार्यकर्तालाई गुट/उपगुटका नाममा विभेद गर्ने माओवादी नेतृत्व विरुद्ध विद्रोहका स्वरहरु मुखरित हुन थालेका छन्।

नेतृत्वको यही प्रवृतिको विरोध गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले चैत ८ गते पदबाट राजिनामा दिए। नेतृत्वमा रहेका ब्यक्तिहरु नै भ्रष्ट भएको तथा मधेशका मुद्दामा गैरजिम्मेवार भएको आरोपसहित उनी पार्टीबाट अलग भए।

शर्माको यो कदमपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले लामो स्ट्याटस लेख्दै नेतृत्वप्रति असन्तुष्टि ब्यक्त गरेका छन्। ‘हिजो रामकुमार शर्माले पार्टी परित्याग गर्नुभएको कुरा सार्वजनिक गर्नुभएको छ। उहाँले ठोस कार्यविभाजन सहित सबैको उपयुक्त जिम्मेवारी सहितको मुद्दा उठाइराख्नु भएको थियो, जो सबैको विषय हो। तर, हाम्रा नेताहरुलाई सुन्ने फुर्सद भएन।’ उनले लेखेका छन्–‘यो भन्दा अगाडि कम्रेड रामचन्द्र मण्डल (हाल नेकपा एमालेबाट मधेस प्रदेशको सभामुख), कम्रेड ज्वाला साह (नेकपा एमाले बाट हाल संघीय मन्त्री) पार्टी छोडन बिवश हुनु भयो।’

पूर्वमन्त्री यादवले बाराको महागढी नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्न नदिएकै कारण रामबाबु यादवले पार्टी छोडेको र हाल उनी जसपाको जिल्ला अध्यक्ष भएको पनि जनाएका छन्। ‘महोत्तरीका बलराम यादव जसलाई जिल्ला कमिटीको सदस्य बन्न दिएनन। हाल उहाँ नेकपा (एमाले) को निर्वाचित जिल्ला अध्यक्ष हुनुहुन्छ’ उनले अगाडि लेखेका छन्–‘सप्तरीका महेश यादव र मेरो बीचमा देखिएको असमझदारी (समानुपातिक र प्रत्यक्ष उम्मेदवारको विषय) मा केन्द्रले वास्ता गरेनन्। हाल उहाँ (महेश यादव) जनमतपार्टी को संसदीय दलको नेता (मधेस प्रदेश) हुनुहुन्छ।’

त्यस्तै कतिपय स्थानीय तहदेखि जिल्लासम्म पार्टी क्याडरको क्षमता अनुसारको उचित ब्यबस्थापन गर्न नसक्दा पार्टी छोडने क्याडरको संख्या बढिरहेको यादवले वताएका छन्। ‘मधेस प्रदेशको समानुपातिकको सिट भागवण्डा र त्यसलाई लाहाछाप लगाउदा होश नपुर्याउदाको परिणामको जिम्मेवारी कसले लिने?’ भन्दै उनले अगाडि थपेका छन्–‘वालुटार जग्गा प्रकरणमा दोषी ठह-याएकाहरुलाइ पार्टी प्रवेश गराइ बिधान अधिवेशनमा सहभागी गराउने, निर्वाचनमा पार्टी छोडेकाहरुलाई रातारात पुरानै कमिटीमा राख्ने प्रवृत्ति र शैलीले पार्टी बनाउने कस्तो काइदा?’

‘समस्या देखिएका ठाउँमा समाधान नदिएर झन जटिल बनाउने अनि मधेसी जनता ठिक, मधेसी मुलका नेता बेठीक भनेर भास्य स्थापित गराएर पार्टी बन्छ?’– भन्दै उनले ‘पार्टीलाई एउटा गिरोहको जिम्मा लगाएर युद्धमा मुक्ति र मृत्युु रोजेका योद्धाहरुलाइ बिस्थापित र अपमानित गरेर पार्टी बन्छ?’ भनेर प्रश्न गरेका छन्।
यस्तो छ उनको फेसबुक स्ट्याटस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट