ज्यान मुद्दामा कैद मिनाह पाएका रेशम चौधरीले पार्टीकै नेतालाई ज्यान मार्ने धम्की दिए

काठमाडौं– ज्यान मुद्दामा तीनै तहका अदालतले कसुरदार ठहर गरेपनि राजनीतिक वैमानी गरेर जेलमुक्त गरिएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले आफनै पार्टीका नेता/कार्यकर्तालाई ज्यान मार्ने धम्की दिन थालेको खुलासा भएको हो।
राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलमुक्त भएका चौधरीले आइतबार टेलिफोन गरेर ज्यान मार्ने धम्की दिएको संस्थापक केन्द्रीय सदस्य रमेश बिकले वताए। उनले ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न वालुवाटार नजान’ भनेको र गए ज्यान मार्ने भनेर धम्की दिएको बिकले बताए।
‘कमल शाहको सरकार तलमाथि भयो भने तिमीहरूको हत्या हुन सक्छ भनेर धम्क्याउनुभयो। तर हामीले त्यसलाई गम्भीर रुपमा लिएनौं। तर आज केन्द्रीय कार्यालयमा मिटिङ चल्दै गर्दा बाहिरबाट चुकुल लगाएर हामीमाथि आक्रमण भयो।’– विकले भने।
सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरुको बैठकमा नेताहरुबीच कुटाकुट भएको थियो। आइतबार ज्यान मार्ने धम्की दिनु रसोमबार आफूहरुमाथि आक्रमण हुनुले असुरक्षा बढेको नेता बिकले बताए।
सोमबार बैठक सुरु हुनुअघि नै रेशम चौधरीसहितका नेताहरु पार्टी कार्यालयमा उपस्थित भएका थिए। त्यसक्रममा संस्थापक केन्द्रीय सदस्यको मात्र बैठक बस्ने वा रेशम चौधरीहरुलाई पनि सहभागी गराउने भन्ने विषयमा विवाद हुँदा हात हालाहाल भएको थियो।
रेशम चौधरीले भने आफूले कसैलाई पनि ज्यान मार्ने धम्की नदिएको बताए। उनले आफूले बैठकमा केही गलत शब्द बोलेको भने स्वीकार गरे।