समुह चरणका चार खेल जितेर नेपाल एसीसी प्रिमियर कपको सेमिफाईनलमा प्रवेश

काठमाडौँ– ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणमा लगातार चार वटा खेल जितेर नेपाल सेमिफाईनलमा प्रवेश गरेको छ। नेपालले आफ्नो अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले हराएको छ।

८ ओभरमा घटाइएको खेलमा साउदीले प्रस्तुत गरेको ७४ रनको लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे।

ओपनर कुशल भुर्तेल डक, आसिफ शेख र कुशल मल्ल २÷२ रनमा आउट भए। एक समय २.२ ओभरमा १५–३ को अवस्थामा पुगेको नेपाललाई गुलशन झा र दीपेन्द्रसिंह ऐरीले ३३ रनको साझेदारी गर्दै लयमा फर्काए। दीपेन्द्र ९ बलमा ३ चौकासहित १७ रनमा आउट भए। साउदीका ईश्ताक अहमदले २, उस्मान नाजिव र वाजी उल हसनले १–१ विकेट लिए ।

त्यसअघि अलअमरेत क्रिकेट ग्राउण्ड–२ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो। मंगलबार राती वर्षाको कारण मैदान समयमै खेल्न तयार नहुँदा खेल ८–८ ओभरको भएको थियो।

ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाएका थिए। अन्य कुनैपनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। अभिनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए। प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिए।

यो सँगै नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै घर फर्कन बाध्य भयो।

समूह ‘ए’ बाट हङ्कङ दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भयो। बुधबार नै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई ७ विकेटले हराएको थियो। बुधबारको खेलमा नेपाललाई हराउन सकेको भए साउदी अरेबिया नेट रन रेटका आधारमा हङ्कङलाई पछि पार्दै अन्तिम चारमा पुग्ने थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट