विवाह घरमा नाच्न आएका ११ जना युवाद्वारा वेहुलीका भाईको कुटिकुटी हत्या

काठमाडौं– सल्यानको कुमाख गाउँपालिका– ६ मा विवाह घरमा नाच्न आएका युवाको कुटपिटबाट वेहुलीका काकाका छोराको मृत्यु भएको छ। वेहुली अन्माई सकेपछि आएका उनीहरुले उच्छृंखल गतिविधि गरेपछि सम्झाउन खोज्ने २१ वर्षीय विकास वलीको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नवीन कार्कीका अनुसार गत मंगलबार विकासका ठुलोबुबाको घरमा विवाह थियो। वेहुली अन्माईसकेपछि छिमेकी गाउँका ११ जना युवाहरु भलिबल खेलेर विवाह घरमा आए।

नाचगान गर्न भन्दै आएका उनीहरुले उच्छृंखल गतिविधि गर्ने, मण्डप भत्काउने र ध्वजापताका च्यात्न थाले। उनीहरुलाई विकासले सम्झाई वुझाई गरेर फर्काएका थिए। उनीहरुलाई बाटो लगाउन विकास पनि सँगै गए।

करिब २० मिनेटको बाटो हिडेपछि जंगलको बीचमा पुर्याएर ११ जना मध्येका एक जनाले विकासलाई चिर्पटले प्रहार गरेको खुलेको डीएसपी कार्कीले वताए। चिर्पट लागेर ढलेका उनलाई समूहका अन्य युवाले पनि कुटपिट गरे।

कुटपिटका कारण गम्भिर अवस्थामा फेला परेका उनको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बाँके लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाईएको छ।

हत्यामा संलग्न भएका ११ जनालाई नै बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट