सिरिज हारिसकेपछि वेष्टइन्जिमाथि नेपालको ६ विकेटको जित
काठमाडौं– एक खेल अघि नै सिरिज हारिसकेपछि पाँचौं तथा अन्तिम टी–२० खेलमा नेपालले वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ। पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भयो।
त्रिवि क्रिकेट मैदान शनिवार भएको सिरिजको अन्तिम खेलमा वेष्टइन्जिले नेपाललाई १७३ रनको लक्ष्य दिएको थियो। नेपालले उक्त लक्ष १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। नेपालको जितमा कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे। खेल जित्न अन्तिम १२ बलमा २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाए।
नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाए भने अनिल साहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए। ओपनर कुशल भुर्तेलले १३ रन बनाए भने अनिल र आसिफले ९६ रनको साझेदारी गरे।
दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए। ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए। त्यसअघि वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। वेष्टइण्डिज ए का एलिक एथानाजेले ४२, कप्तान रोस्टन चेसले ३३, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११÷११, म्याथ्थु फर्डले २३, फबिएन एलेन ३ र गुणाकेश मोतीले १ रन बनाए।
तीव्र गतिका बलर सोमपाल कामीले ३, स्पिनर सागर ढकालले ३ र अभिनाश बोहराले १ विकेट लिए।