लेटाङमा रुखमा मोटरसाइकल ठोक्किँदा झापाका दुई युवाको मृत्यु, एक गम्भीर

विराटनगर — मोरङको लेटाङमा मोटरसाइकल दुर्घटनामा झापाका दुई युवाको मृत्यु भएको छ। लेटाङ नगरपालिका–९ हात्तीचोकको भित्री सडकमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना भएको थियो।

घट्नामा झापाको कचनाकवल गाउँपालिका–१ घेराबारीका २७ वर्षीय कुमार नेपाली र २५ वर्षीय सन्देश नेपालीको मृत्यु भएको हो। दुर्घटनामा पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपाली गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार जाँते बजारबाट पथरीतर्फ आउँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल राति करिब १०ः३५ बजे हात्तीचोकको भित्री सडकखण्डमा अनियन्त्रित भएर रुखमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक कुमार, पछाडि सवार सन्देश र अमर घाइते भएका थिए।

घाइतेमध्ये कुमार र सन्देशलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको थियो। उपचारका क्रममा चिकित्सकले कुमारलाई राति १२ बजे र सन्देशलाई १२ः०४ बजे मृत घोषणा गरेका थिए।

मृतक सन्देश लेटाङमै सेफका रूपमा काम गर्दै आएका थिए। दुर्घटनामा गम्भीर घाइते अमरलाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट