१० वर्षीया बालिकाको अपहरणमा संलग्न आरोपीलाई प्रहरीले गोली हानेर समात्यो, बालिकाको ४० घण्टापछि उद्वार
काठमाडौँ— घरमै सुतिरहेकी १० वर्षीया बालिकाको अपहरणमा संलग्न भएको आशंकामा खोजी भइरहेका रुपन्देहीका एक युवकलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ। तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई शनिबार राति करिब १ बजे प्रहरीले पक्राउ गरेको हो।
स्थानीय धानखेतबाट नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि ढुंगालगायतका वस्तुले आक्रमण गर्दै भाग्न खोजेपछि प्रहरीले एक राउन्ड गोली चलाएको हो। खुट्टामा गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी जनक शाहीका अनुसार थारुलाई नियन्त्रणमा लिन एक राउन्ड गोली चलाइएको हो।
थारुले बुधबार राति तिलोत्तमा–१७ दरखसवाकी १० वर्षीया बालिकालाई घरभित्र सुतिरहेको अवस्थामै अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अपहरणमा परेकी बालिकालाई प्रहरीले करिब ४० घण्टापछि शुक्रबार राति तिलोत्तमा–१० कान्छीबजारनजिकैको जंगलबाट सकुशल उद्वार गरेको थियो।
बालिका भेटिएपछि प्रहरीले उनको अपहरणमा थारुको संलग्नता रहेको आशंकामा व्यापक खोजी थालेको थियो। करिब १ सय ५० प्रहरी परिचालन गरेर गरिएको खोजीका क्रममा उनी शनिबार राति धानखेतमा लुकेको अवस्थामा फेला परेका थिए।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार थारु यसअघि पनि महिलालाई दुःख दिने गतिविधिमा संलग्न रहेको प्रारम्भिक विवरण खुलेको छ। ‘एक्लै महिला देख्यो कि घरभित्र पस्ने, नुहाउन लागेकी महिलालाई आक्रमण गर्ने, महिलाको पिछा गर्ने गरेर गाउँभरीका महिलालाई सताउँदै आएको रहेछ,’ उनले भने, ‘पक्राउ परेको व्यक्ति अत्यन्तै आपराधिक मानसिकता बोकेको व्यक्ति रहेछ।’
प्रहरीका अनुसार धानखेतमा लुकेको अवस्थामा थारुलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि ढुंगालगायतका सामग्री प्रहार गरेका थिए। त्यसपछि भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो।
बालिकाका परिवारका अनुसार घटनाको राति घरबाहिर हजुरबुवा र हजुरआमा सुतिरहेका थिए। घरभित्रको कोठामा बालिका आफ्नो भाइसँगै सुतेकी थिइन्। राति करिब २ बजे हजुरबुवा ओढ्ने ओढाइदिन भन्दै बालिका सुतेको कोठामा पुग्दा उनी त्यहाँ नभेटिएपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेको थियो। बालिकाका बाबुआमा ज्याला मजदुरी गर्छन्।
प्रहरीले खोजी तीव्र बनाएपछि शुक्रबार राति बालिकालाई तिलोत्तमा–१० कान्छीबजारनजिकैको जंगलमा एक्लै छोडिएको अवस्थामा फेला पारेको थियो। उनलाई सकुशल उद्वार गरी परिवारको जिम्मा लगाइएको थियो।
यौन हिंसाको उद्देश्य रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष
प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकालाई यौन हिंसा गर्ने उद्देश्यले अपहरण गरिएको देखिएको जनाएको छ। प्रहरीका अनुसार अपहरणका बेला थारुले अत्यधिक मदिरा सेवन गरेका कारण त्यस्तो प्रयास गर्न नसकेको र आफूलाई प्रहरीले खोजिरहेको जानकारी पाएपछि बालिकालाई जंगलमै छाडेर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यद्यपि बालिकामाथि यौन हिंसा भएको वा नभएको तथा अपहरणको वास्तविक उद्देश्यबारे अनुसन्धान पूरा भइनसकेको प्रहरीले जनाएको छ। बालिका अपहरण, उद्वार र पक्राउ परेका थारुको अवस्थाबारे थप विवरण विज्ञप्तिमार्फत सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

