शोकमा बदलियो जितियाको रौनक, नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा — जितिया पर्वका लागि नुहाउन पोखरीमा पुगेका बाराको देवताल गाउँपालिकाका दुई किशोरीको डुबेर मृत्यु भएपछि पर्वको रौनक शोकमा बदलिएको छ। शनिबार साँझ देवताल–६ जबकास्थित राजेन्द्र कुर्मीको माछा पोखरीमा नुहाउने क्रममा बेपत्ता भएका १४ वर्षीया निशा पटेल र १४ वर्षीया चाँदनी पटेलको शव फेला परेको छ।

खोजतलासका क्रममा साँझ करिब ६ बजे दुवैको शव फेला परेको हो। मृत्यु हुनेमा देवताल गाउँपालिका–६ रौवाही निवासी भोला पटेलकी छोरी निशा र सोही ठाउँका राजेश पटेलकी छोरी चाँदनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जितिया पर्वका अवसरमा नुहाउन पुगेका दुवै किशोरी पोखरीमा पसेपछि गहिरो पानीमा डुबेर बेपत्ता भएका थिए। उनीहरू पौडी खेल्न नजान्ने रहेको र पोखरी अत्यधिक गहिरो भएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक भनाइ छ।

दुवै किशोरी बेपत्ता भएको खबर पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दासहित आफन्तले पोखरीमा खोजी थालेका थिए। खोजीका क्रममा शनिबार साँझ करिब ५ः५० बजे पोखरीको उत्तरतर्फको किनारबाट करिब २० फिट दक्षिणतर्फ गहिरो पानीमा दुवैको शव फेला परेको सशस्त्र प्रहरी बल, अस्थायी सुरक्षा बेस बेनौलीले जनाएको छ।

सशस्त्र प्रहरीका सई धर्मेन्द्रकुमार कुर्मीका अनुसार खोजीका क्रममा दुवै किशोरी मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र शव परीक्षणका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका इन्स्पेक्टर विमल खतिवडाले जानकारी दिए।

जितिया पर्वको अवसरमा नुहाउन गएका दुई किशोरीको एकैपटक ज्यान गएपछि रौवाही गाउँमा पर्वको उल्लास शोकमा परिणत भएको छ। पर्व मनाउने तयारीमा रहेका परिवार र गाउँलेलाई एकै घटनाले स्तब्ध बनाएको छ।

प्रहरीले चाडपर्वका बेला पोखरी, नदी, तलाउलगायतका जलाशयमा नुहाउन जाँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विशेषगरी बालबालिकालाई अभिभावकको निगरानीबिना गहिरो पानी भएका जलाशयमा जान नदिन प्रहरीले आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट