राष्ट्रद्रोहको आरोप लागेपछि राष्ट्रपतिका सल्लाहकारले दिए राजिनामा

काठमाडौं– १ सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा छाप्ने निर्णको विरोध गरेपछि विवादमा तानिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन्।

मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले आईतबार पदबाट राजीनामा दिएका हुन्। नेपालले दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

गत २० वैशाखमा मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो। त्यो निर्णयका विषयमा प्रतिक्रिया जनाउँदै डा. नेपालले ‘भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको’ बताएका थिए।

डा. नेपालले सञ्चार माध्यममा यसरी अभिव्यक्ति दिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक स्थलमै ‘राष्ट्रद्रोही अभिब्यक्ति दिने मान्छेलाई सल्लाहकार राख्न मिल्छ ?’ भन्दै प्रश्न गरेका थिए। एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा पनि अध्यक्ष ओलीले नेपालको अभिव्यक्तिको विरोध जनाउँदै यो विषयलाई संसदमा गम्भीर रुपमा उठाउने बताएका थिए।

नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेकोमा भारत असन्तुष्ट छ। भारतीय विदेशमन्त्री एस जयशंकरले सीमाबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय गरेको बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट