वजेटमा जसपा नेपालका सांसदको ब्यंग्यः प्रधानमन्त्रीको ज्वाइँ विकास परियोजना खोइ?

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रकाश अधिकारीले प्रधानमन्त्रीकी स्वर्गीय पत्नी सीता दाहालको नाममा कलेज स्थापनाको लागि बजेट छुट्याएको प्रति व्यंग्य गरेका छन्।
प्रनिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलको क्रममा उनले यस्तो ब्यंग्य गरेका हुन। ‘एकदुई जनाले सोध्दै थिए, प्रधानमन्त्रीको ज्वाइँ विकास परियोजना खोइ? प्रधानमन्त्री दाइभाइ परियोजना खोइ? प्रधानमन्त्री भतिजाभतिजी परियोजना खोइ? यस्तो कार्यक्रम खोइ?’ उनले भने–‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम भनिएको छ, बजेट पनि १० करोडमात्रै राखिएको छ। थोरै बजेट भए पनि छोरी पनि रिसाउनु हुने भो प्रधानमन्त्रीजी पनि।’
जनतालाई अल्मलाउने भक्तिभाव गर्ने काम बन्द गर्न उनले सुझाव दिए। सांसद अधिकारीले दल विभाजन गर्ने काममा मात्रै क्रमभंगता नभएकाले बजेटमा पनि क्रमभंगता ल्याउनु पर्ने टिप्पणी गरे।