कपडा किनिदिने प्रलोभनमा भारत पुर्‍याई बेश्याघरमा महिलालाई विक्रि गर्ने मण्डल ३० वर्षपछि पक्राउ

विराटनगर– कपडा किनिदिने प्रलोभन देखाएर ३० वर्ष अघि एक महिलालाई भारतको कटिहार पुर्‍याएर बेश्याघरमा विक्री गरेको आरोप लागेका विराटनगर महानगरपालिका–१८ (साविक बुधनगर गाविस–१) का ५१ वर्षीय दिनेश मण्डल पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय रानीले मंगलबार बिहान विराटनगर–१७ स्थित जुट मिल्स नजिकबाट मण्डललाई पक्राउ गरेको हो। मण्डलले १० साउन ०५१ मा एक जना महिलालाई भारतको कटिहारस्थित डरेवर टोलमा रहेको बेश्याघरमा लगेर बिक्री गरेको आरोप छ।

केही दिनपछि नै त्यहाँबाट भागेर आएकी पीडित महिलाले मण्डलविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यस वेला उनी २१ वर्षका मात्रै थिए। उजुरी परेपछि घरबाट भागेका मण्डल त्यसपछि लामो समय भारतमै लुकेर बसेको खुलेको छ। पछिल्लो पटक घर आएको मौका पारेर पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

पीडित महिलाको जाहेरी अनुसार लत्ताकपडा किनी दिने भन्दै मण्डलले ललाइफकाई उनलाई भारतको फारबिसगन्ज पुर्‍याएका थिए। त्यहाँ मिठाई पसलमा लड्डु खान दिएर बेहोस बनाई आफुलाई कटिहारको डरेवर टोलमा रहेको बेश्याघरमा विक्री गरेको महिलाको आरोप छ।

मण्डलले आफनो साथमा भएका गरगहना तथा नगद सबै लिएर भागेको उनले जाहेरीमा उल्लेख गरेकी छिन्। प्रहरी स्रोतका अनुसार प्रारम्भिक सोधपुछका क्रममा मण्डलले पनि महिलालाई भारत पुर्‍याएको स्वीकार गरेका छन्।

डीएसपी बस्नेतका अनुसार मण्डलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउन मोरङ अदालतबाट म्याद थप गरेर अनुसन्धान भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट