मधेशमा ढल्यो उपेन्द्र यादवको साढे ६ वर्षे साम्राज्य, जसपा पहिलो पटक सत्ता वाहिर

राजविराज– अन्य दलभन्दा सानो आकारमा भएपनि विभिन्न दाउपेच लगाएर मधेश प्रदेशमा उपेन्द्र यादवले खडा गरेको साम्राज्य साढे ६ वर्षपछि ढलेको छ। संघीयता कार्यान्वयनमा आएदेखि नै मधेशमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्रले आफनो सत्ता चलाउँदै आएका थिए।

केन्द्रमा अशोक राई समूहको विभाजन र संघीय सरकारबाट बहिर्गमनको एक महिना नपुग्दै मधेशको सत्ताराजनीतिबाट पनि यादव बाहिरिएका छन्। यसअघि ३० वैशाखमा नै एमाले र माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। मंगलबार मात्रै नेकपा एसले पनि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत मागे।

तर, विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको हो। कुल १०७ प्रदेश सभा सदस्य रहेको बैठकमा उपस्थित १०३ सांसदमध्ये जसपा, कांग्रेस, लोसपा र राप्रपाका ५० सांसले मुख्यमन्त्रीको पक्षमा मतदान गरे भने एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिका ५३ सांसदले उनको विपक्षमा मदतदान गरे।

एक सिटको संघीय समाजवादी पार्टी भने बैठकमा उपस्थित भएन। त्यसपछि सभामुख रामचन्द्र मण्डलले बुधबार नैै प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पत्राचार गरेर मुुख्यमन्त्री यादवले प्रदेश सभाबाट विश्वासको मत गुमाएको जानकारी गराएका छन्।

प्रदेश सभामा १९ सिट रहेको जसपा विभाजन भएपनि मुख्यमन्त्री यादवले एक महिना अल्पमतको सरकार चलाए। यस विचमा उपेन्द्र यादवले बहुमत जुटाउन कांग्रेस, लोसपासहितको समर्थन खोजे पनि सम्भव भएन। यसै बीचमा एकीकृत समाजवादीले पनि मंगलबार साथ छोडेको थियो।

प्रदेश सभामा तेस्रो ठूलो दल रहे पनि केन्द्रको राजनीतिक समीकरण अनुसार बहुमत जुटाएर सरकार चलाई रहेका उपेन्द्र यादवलाई यस पटक भने ठुलो धक्का लागेको छ। तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्रीसमेत रहेका उनी विदेश भ्रमणमै रहेका वेला अशोक राई समूहले पार्टी विभाजन गरेपछि उनी समस्यामा पर्न थालेका हुन।

त्यसपछि केन्द्रमा मात्र होईन, साढे ६ वर्ष एकछत्र राज गरेको प्रदेश सरकारका पनि संकटका दिन सुरु भएका हुन। प्रदेश सभाको पहिलो पाँचवर्षे कार्यकालमा जसपा नेता लालबाबु राउत मुख्यमन्त्री बनेका थिए। यसपटक सरोजकुमार यादवले पनि डेढ वर्ष सत्ता सञ्चालन गरे। तर, केन्द्रको सत्ता समिकरण फेरिदा उनले भने पुरा कार्यकाल सत्ताको सुखभोग गर्न पाएनन्।

सत्तामा मात्र होईन, मधेशकै राजनीतिमा उपेन्द्र यादव कमजोर सावित हुँदै गएका छन्। जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मधेशमा उपेन्द्रलाई कमजोर बनान लागि परेका छन्। ०७९ को निर्वाचनमा राउतले सप्तरी–२ मा उपेन्द्रलाई हराएका थिए। उपेन्द्र उपनिर्वाचनमार्फत बारा–२ बाट सांसद चुनिएका हुन। पार्टी विभाजनपूर्व उपेन्द्रसँग प्रतिनिधि सभामा १२ सांसद थिए। अब ५ मात्रै बाँकी छन।

५ सांसदमा पनि नेता राजकिशोर यादवले पार्टी फुटाउने हल्लाले उपेन्द्रलाई पिरोलेको छ। राजकिशोरले आफुसहित ४ जना सांसद आफनो पक्षमा रहेको दावी गर्दै आएका छन्। यस भयो भने उपेन्द्र यादव प्रतिनिधि सभामा जसपा नेपालको एक्लो सांसद हुने सम्भावना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट