सतिश सिंह मधेशको मुख्यमन्त्री बन्दै, हौसिएका महेश यादव अन्तिम समयमा खत्रक्कै

जनकपुर– मधेश प्रदेशमा जनमत पार्टीका तर्फबाट सतिश सिंह मुख्यमन्त्री बन्ने भएका छन्। जनपमत पार्टीले सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।
जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकबाट उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका सचिव विपी साहले जानकारी दिएका छन्।
जनमतले एमाले र माओवादी केन्द्रको समर्थनमा सरकार बनाउन लागेको छ। यसअघि संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने जनमतको तयारी थियो। तर, अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका निवासी सिंहलाई आजै मुख्यमन्त्री बनाउन दलहरूले बहुमतसहित प्रदेश प्रमुखलाई दावी पेस गर्ने तयारी गरेका छन्। उनी सप्तरी क्षेत्र नं. २ (क)बाट प्रत्यक्ष निर्वाचित भएका थिए। सिंह मधेश प्रदेशसभाका अर्थ तथा योजना समितिका सभापति समेत हुन्।