मधेशमा सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश, यसरी भयो मन्त्रालय भागवण्डा

जनकपुर– जनमत पार्टीका सांसद सतिशकुमार सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ६ दलले मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गरेका छन्।

जसपा नेपालबाट मुख्यमन्त्री रहेका सरोज कुमार यादवले बुधबार विश्वासको मत गुमाएपछि पदमुक्त भएका थिए। सोही राति प्रदेश प्रमुख भण्डारीले शुक्रवार विहान १० वजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेकी थिइन्।

आज नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश गरेका छन्।

प्रदेश प्रमुख भण्डारीले आजै मुख्यमन्त्रीमा सिंहलाई नियुक्त गरी पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी छ। दलहरुले मन्त्रालयको भागवण्डासमेत मिलाई सकेका छन्।

भागबण्डा अनुसार मधेशका ११ वटा मन्त्रालय मध्ये एमालेले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन, नेकपा एसले कृषि, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने भएको छ। भने १–१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए।

नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी तरन्नुम गृह मन्त्री बन्ने पक्का भएको छ। जनमतले मुख्यमन्त्रीसहित वन तथा वातावरण र एक विना विभागीय मन्त्री पाउने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट