विराटनगरका पत्रकारको प्रश्नले ‘अवाक’ भए गृहमन्त्री, भने– आफना प्रश्न सोध्नोस

विराटनगर– आजबाट सुरु भएको २ दिने राष्ट्रिय सुरक्षा बैठकमा सहभागी हुन विराटनगर पुगेका गृहमन्त्री रवि लामिछानेलाई त्यहाँका पत्रकारले-याख-याखी पारेका छन्। खास गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अमेरिकी एजेन्ट भनेको विषयमा पत्रकारले उनलाई प्रश्न सोधेका थिए।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने क्रममा ‘देशका गोप्य सूचना विदेशीलाई बेच्नेमाथि कारबाही र अनुसन्धानको विषय कहाँ पुग्यो?’ भन्दै उनलाई प्रश्न गरे। उनले यो विषयमा कुनै जवाफ नै दिएनन्। वरु, संसदमा आफूले कसैको पनि नाम तोकेर मुलुुकको गोप्य सूचना बेचेको विषयमा नबोलेको दावी गरे।

यो पुरानो कुरा भएको भन्दै तर्किएर हिँडेका उनले ‘सञ्चार माध्यममै आएका कुरा मैले संसदमा उठाएको’ भन्ने जवाफ दिए। सांसदलाई सम्बोधन गर्ने क्रममा लामिछानेले देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔँ भनेर बोलेका थिए।

‘संसदीय मर्यादा विपरीत बोलेकाले गृहमन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भनेर काँग्रेसले भनिरहेको छ नि’ भन्ने प्रश्नमा उनले संसदमा प्रतिपक्षीले जवाफ मागेमा दिन आफू तयार रहेको बताए।

लामिछानेले पत्रकारलाई उल्टै ‘तपाईँहरूका आफ्ना प्रश्न पनि भइदिएको भए हुन्थ्यो। कसैले खडा गरिदिएको प्रश्न महिनौँसम्म सोध्नु भयो भने कसरी हुन्छ?’ भन्दै मजाक उडाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट