५ लाख ऋण दिएर त्यसको आडमा महिलालाई बलात्कार गर्ने मिटरब्याजी सूर्जमानलाई १० वर्ष जेल
काठमाण्डौं– एक महिलालाई ५ लाख ऋण दिएर त्यसैको आडमा पटक–पटक बलात्कार गरेको र घरजग्गा कब्जा गरेको आरोप लागेका ललितपुरका कुख्यात मिटरब्याजी सूर्जमान मालीलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद गर्ने फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको १३ जेठको एकल इजलासले मानव बेचबिखन तथा ओसारपसार कसुरमा मालिलाई दोसी ठहर गरेको थियो। सजाय आज निर्धारण गरिएको हो। उनलाई कैदसहित ५० हजार जरिवानासमेत तोकिएको जनाईएको छ।
अदालतले क्षतिपूर्ति बापत पीडित महिलालाई ५ लाख रुपैयाँ भराउन समेत भनेको छ। यौन शोषण गर्ने मतियार उमेश शाहीको हकमा एक महिना कैद, दुई हजार जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला अदालतले गरेको छ। पीडित महिलाका आफन्त पर्ने माली पुर्पक्षका लागि थुनामै छन्।
जानकारी अनुसार पीडित महिलाले रक्सीको कुलतमा फसेका पतिको उपचार गर्न मासिक ५० हजार ब्याज वुझाउने सर्तमा ०७५ सालमा ५ लाख रुपैयाँ ऋण लिएकी थिइन्। महिलाले ऋणसापट गरेर दुई महिनासम्म त ब्याज तिरिन्। तर त्यसपछि साँवा र ब्याजसमेत वुझाउन सकिनन्। त्यसपछि मालीले ऋणको ब्याज घटाइदिने भन्दै पटक–पटक बलात्कार गरेको गरेको र ५५ लाखको तमसुक गराएर घरजग्गा नै कब्जा गरेको खुलेको थियो।
यति मात्रै होईन, मालीले अरुलाई पनि बलात्कार गर्न लगाएको उनको भनाई छ। उनीविरुद्ध बलात्कारका लागि हदम्याद नभएपछि मानव बेचबिखनमा मुद्दा दायर गरिएको थियो। शारीर बन्धक बनाएर यौन शोषण गर्दै मानव बेचबिखन गरेको अभियोगपत्रमा उल्लेख छ।