कुडुलेमा पहिरोले यसरी पुर्यो ट्रक, पर्साका चालकले हामफालेर ज्यान बचाए

सिन्धुली– मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्डमा आज पहिरोले एउटा ट्रक पुरेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार गोलञ्जोर–१ कुडुलेमा प्र२–०३–००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरेको हो।
कालिआप भन्ने स्थानमा माथिबाट झरेको लेदोले ट्रक पुरिएको प्रहरीले जनाएको छ। ट्रकचालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेलले हामफालेर ज्यान जोगाएका छन्। लगातारको बर्षाले खुर्कोट घुर्मि सडक खण्डका ठाँउठाँउमा पहिरो झरेको स्थानीयले वताएका छन्।
कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको छ। गोलञ्जोर गाँउपालिकाको कालिआप, अक्करेभिर, कुँडुले, लगायतका स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको एसपी काफ्लले जानकारी दिएका छन्।
राजमार्गसँग जोडेर खनिएका ग्रामीण सडक व्यवस्थित नहुँदा लेदो आएर राजमार्गमा बसेकाले अवरुद्ध भएको जनाईएको छ। पहिरो पन्साउन नेपाल प्रहरीसहित सडक विभागको मेसीन प्रयोग भइरहेको छ।