सर्लाहीमा रोकेर राखेको ट्रकमा बस ठोक्किँदा ३ जनाको मृत्यु, १० जना घाईते
जनकपुर — सर्लाहीको वाग्मती नगरपालिका–१, रायमाझी चोकमा बिहीबार बिहान रोकेर राखेको ट्रक (लरी) मा यात्रुवाहक बस ठोक्किदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रक ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा रुपन्देहीका हरिबहादुर चौधरी, रुपन्देहीकै ८५ वर्षीय दशरथ कुहार र रुपन्देहीको मायादेवी गाउँपालिका– २ का ५० वर्षीय रामकरण केवटको मृत्यु भएको हो।
उनीहरु सबै बसका यात्रु हुन्। बसमा झण्डै ४१ जना सवार थिए। घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। बसका चालक प्रहरी नियन्त्रणमा छन्।
प्रतिक्रिया