फिदिमका पहिलो मेयर ओनाहाङ नेम्वाङको अस्पतालमा निधन

विराटनगर– पाँचथरको फिदिम नगरपालिकाका पहिलो/निवर्तमान मेयर ८७ वर्षीय ओनाहाङ नेम्वाङको निधन भएको छ। नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका नेम्वाङको बिहीबार विहान विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो।
मधुमेह र रक्तचाप सम्बन्धी समस्या देखिएपछि उनलाई तीन दिन अघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। पारिवारिक स्रोतका अनुसार पछिल्लो उनलाई मृगौला सम्बन्धी समस्या पनि देखिएको थियो।
नेम्वाङ ०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका थिए। उनी ०७२ देखि ०७४ सालसम्म फिदिम नगर विकास समितिको अध्यक्ष थिए।
२००४ सालमा फिदिम २ माथ्लो गाउँमा जन्मेका नेम्वाङले आफ्नो सक्रिय जीवनमा नागरिकलाई शिक्षा, स्वास्थ्य र खानेपानी उपलव्ध गराउन भूमिका खेलेका थिए। फिदिम ०७१ सालमा नगरोन्मुख गाविसबाट नगरपालिका घोषणा भएको थियो।