सिमलताल पहिरोमा हराएका बस र यात्रुको अवस्था अझै अज्ञात, चुम्बकले खोजी गर्दै गोताखोर

काठमाण्डौं– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका २ वटा बस अहिलेसम्म फेला परेका छैनन्।

नेपाली सेनाको गोतखोर टोली, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको टोलीले बेपत्ता बस र यात्रुको खोजी जारी राखेको छ। खोजीका लागि सशस्त्र प्रहरीका ३ वटा र नेपाली सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी गरिरहेको छ।

बाढीले बस बगाएर निकै तल पु¥याएको हुनसक्ने आशंकमा देवघाटमा समेत टोली परिचालन गरेर खोजी गरिए पनि पत्ता नलागेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलले बताए। दुर्घटनास्थलबाट करिब २ सय मिटर तलसम्म गएर गोताखोरको टोलीले खोजी गरिसकेको छ। त्योभन्दा तल ठूलो भूमरी रहेकाले खोजीमा थप समस्या भएको छ।

बस नदी किनारमा पहिरोमा पुरिएको हुनसक्ने आशंका पनि गरिएको छ। तर अहिले नै पहिरो पन्छाएर खोज्न सक्ने अवस्था नरहेको एसएसपी पौडेलले बताए। नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको र बस खसेको ठाउँ एकदमै अफ्ठ्यारो भएकाले खोज्न समस्या भएको खोजी तथा उद्धारमा खटिएको टोलीले जनाएको छ।

पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन। त्यसकारणले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ। हुक लगाएर तथा बाँसका भाटा र रडको सहायताले पनि खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सिमलतालमा आज बिहान करिब ३ बजे काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएको थियो।

बसमा रहेका मध्ये तीन जना यात्रु झ्यालबाट हाम फालेर निस्किएका थिए। दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन। तर, दुवै वसका सम्वन्धित निकायबाट प्राप्त चलान (यात्रुको लिष्ट) अनुसार ४५ जना यात्रु रहेको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट