सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध अनुसन्धान गरेका एआईजी ज्ञवाली आफैँ तानिए छानबिनमा

काठमाण्डौं– ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका जीवन चलाउनेविरुद्ध दोस्रो चरणको अनुसन्धानको नेतृत्व गरेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली आफैँ अहिले छानबिनमा तानिएका छन।
प्रहरी प्रधान कार्यालयले एआईजी टेकप्रसाद राईको नेतृत्वमा समिति बनाएर ज्ञावलीका विषयमा छानविन गरिरहेको छ। ज्ञवाली ठुला अपराधको अनुसन्धान गर्ने प्रहरीको मुख्य युनिट केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ को प्रमुख हुन् भने ज्ञवालीको विषयमा छानविनको नेतृत्व गरेका राई उनका ब्याचमेट हुन।
आईजीपी वसन्त कुँवरको सचिवालय स्रोतका अनुसार ६० किलो सुनमा जोडिएका चलाउनेसँग ज्ञवालीको ‘सम्पर्क’ देखिएको छ। फरार अभियुक्त रहेका चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट डिफ्युजन जारी गरिएको छ। उनीसँग ज्ञवालीको फोन सम्पर्क भएको ‘सीडीआर रेकर्ड’ प्रहरी अधिकारीहरूले नै बाहिर ल्याएका थिए।
चलाउने तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङसँग निकट मानिन्छन्। दावासँग ‘कनेक्सन’ देखिएपछि जीवन चलाउनेलाई बोलाएर ब्यूरोका अधिकारीहरूले ‘बयान कागज’ गराएर उनलाई रिहा गरेका थिए। चलाउनेविरुद्ध दोस्रो चरणको अनुसन्धानको नेतृत्व ज्ञवालीले गरेका थिए।
सुन तस्करी जाँचबुझ आयोगले अनुसन्धानमा तत्कालीन सीआईबीकी एआईजी किरण बज्राचार्यको त्रुटि औँल्याएपछि मन्त्रिपरिषद्ले उनलाई हटाएर ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख बनाएको थियो। ज्ञवाली २ चैतमा सीआईबी प्रमुख भएका हुन्। उनलाई सीआईबी प्रमुख बनाउन तत्कालिन गृहमन्त्री रवि लामिछानेको जोडबल थियो।
यता, ज्ञवालीको विषयमा छानविन सुरु भएपछि आईजीपी कुँवरले पूर्वाग्रह राखेर छानबिन थालेको आरोप लागेको छ। कुँवर पनि ज्ञवालीका ब्याचमेट हुन्। आईजीपी बन्ने प्रतिस्पर्धामा रहेका ज्ञवालीले यसअघिका गृहमन्त्री रवि लामिछानेसँग मिलेर ‘समानान्तर हेडक्वार्टर’ चलाएको आरोप लागेको थियो।
तर, कुँवरले उनको छानबिन ‘तालुक कार्यालयबाट आएका पत्रको आधारमा’ भएको बताएका छन्। आईजीपीको सचिवालय स्रोतका अनुसार सुन तस्करी प्रकरणमा जोडिएका चलाउनेसँग ‘सम्पर्क’ देखिएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले पत्र पठाएको थियो।
आयोगको सिफारिस अनुसार ब्यूरोले ब्रेक प्याडमा लुकाएर हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुनबारे दोस्रो चरणको अनुसन्धान पूरा गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ।