प्रदेश सरकारको खहरे नियन्त्रण अभियानमा अवरोध गर्ने हर्क साम्पाङ, पक्राउ परे नगरप्रहरीका असई !

इटहरी– कोशी प्रदेश सरकारको बजेटबाट धरान –१३, अमरबतीको खहरेमा लगाएको तारजालीको बाँध भत्काएको घटनामा प्रहरीले आदेश दिनेलाई छोडेर आदेश कार्यान्वयन गर्ने वफादार कर्मचारीलाई पक्राउ गरेको छ।
तारजालीको बाँध भत्काएको आरोपमा धरान उपमहानगरपालिका नगर प्रहरीका असई सुरेश मग्रातीसहित धरान १३ का ४३ वर्षीया भारती राई, ३५ वर्षीया राजकुमार राई र ३० वर्षीया पारु राईलाई पक्राउ परेका छन्। असई मग्राती आईतबार विहान पक्राउ परेका हुन भने अन्य तीन जना बुधबार पक्राउ परेका हुन।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नवीन कृष्ण भण्डारीका अनुसार मेयर हर्कराज राई (हर्क साम्पाङ) को निर्देशनमा असई मग्रातीसहित नगर प्रहरीको टोलीले बुधबार साँझ धरान–१३ अमरबतीको बाँध भत्काएको थियो।
उक्त बाँध प्रदेश सरकारको २० लाख लागतमा उपभोक्ता समितिमार्फत निर्माण भएको हो। बाँध निर्माण भएपछि स्थानीय भारती राईले खहरेको बिचमा बाँध बनाएको भन्दै भत्काउन मेयर साम्पाङलाई उक्साएका थिए। साम्पाङले पनि तत्कालै नगर प्रहरीलाई बोलाएर एस्काभेटर लगेर बाँध भत्काइदिन आदेश दिएका थिए।
नगरप्रहरी एस्काभेटर लिएर बाँध भत्काउन पुगेपछि वडाध्यक्ष नेत्र काफ्ले र स्थानीयले विरोध जनाए। त्यसपछि नगरप्रहरीको टोली फर्किएका थियो। तर, त्यसको केही दिनपछि मेयर साम्पाङले एस्काभेट पठाएर बाँध भत्काइदिएका थिए।
यस विषयमा उपभोक्ता समितिले वडा कार्यालय र सीडीओ कार्यालयमा उजुरी गरेको थियो भने वडा कार्यालयले पनि घटनाको छानबिन गरी दोशीलाई कारबाही गर्न माग गर्दै सीडीओ कार्यालयमा निवेदन दिएको थियो।
त्यसपछि प्रहरीले नगरप्रहरीका असई मग्रातीसहित ४ जनालाई पक्राउ गरेको हो। तर, बाँध भत्काउन आदेश दिने मेयर साम्पाङविरुद्ध भने प्रहरीले कुनै एक्सन लिएको छैन।