प्रदेश सांसदको घरमा बालश्रम शोषण, उजुरी परेको २ महिनापछि बल्ल अनुशन्धानमा जुट्दै प्रहरी

काठमाण्डौं– लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मामाथि बाल श्रम शोषणको कसुरमा प्रहरीले अनुसन्धान गर्ने भएको छ। शर्माको बालुवाटारस्थित घरबाट गत १४ जेठमा १४ वर्षीया बालिकाको उद्धार गरिएको थियो।
पढाइदिने भन्दै बालिकालाई घरमा राखेर अत्यधिक काममा लगाउने गरेको गुनासोका आधारमा बालिकाको उद्धार भएको थियो। काठमाण्डौं महानगरपालिकाको टोलीले उद्धार गरेपछि बालिकाले आफूमाथि हिंसा भएको बताएकी थिईन।
उद्धारपछि सांसद शर्माविरुद्ध महानगरपालिकाले नै बालबालिकाविरुद्धको कसुर मुद्दामा करिव २ महिना अघि जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गरेको थियो। त्यसविरुद्ध सांसद शर्मा उच्च अदालत पाटन गएकी थिइन। सुरुमा अदालतले धरपकड नगर्न अन्तरिम आदेश दिएको थियो। त्यसैले जाहेरी दर्ता भए पनि अनुसन्धान अघि बढ्न सकेको थिएन।
तर, न्यायाधीशहरू नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको बुधबारको इजलासले प्रहरीलाई अनुशन्धानको बाटो खोलिदिएको छ। अदालतले प्रहरीको पक्षमा फैसला सुनाउँदै निषेधाज्ञासम्बधी रिटमा दाबी नपुग्ने उल्लेख गरेको छ।