बेचन झाले नबोलेरै प्रहरीलाई हैरान बनाए, पोलिग्राफ जाँच गर्न नमानेको खुलासा

काठमाण्डौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपी बेचन झाले प्रहरीलाई नबोलेरै हैरान पारेका छन्। सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिदै आएका छन्।
जसले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीभन्दा माथिसम्म पुग्ने प्रहरीको प्रयास असफल जस्तै भएको छ। झाले दिएको बयानकै आधारमा प्रहरीले त्यसमा संलग्न भएका नेता तथा कार्मचारीलाई पक्राउ गर्ने योजना बनाएको थियो।
झाले इन्कारी बयान दिएपछि प्रहरीले पोलिग्राफ जाँच गराउन प्रयाससमेत गरेको थियो। तर, उनले नमानेको खुलेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसन्धान अधिकृतहरुले उनको बयानबारे सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गराउने कोसिस गरे पनि मनानेको खुलेको हो।
झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दासँगै उनले पोलिग्राफ परीक्षण गर्न नमानेको व्यहोराको प्रतिवेदन पनि समावेश गरिएको छ। अनुसन्धानका क्रममा प्रहरीले अर्का आरोपी रामशरण केसीले झाको नाममा काटिदिएको दुई करोड रुपैयाँको चेक पनि बरामद गरेको थियो। त्यसबारे पनि आफूलाई थाहा नभएको उनले बताएका थिए।
झा र केसीबीच भएको संवादको एउटा अडियो पनि प्रहरीले उनलाई सुनाएका थिए। त्यो पनि आफ्नो आवाज नभएको उनले जिकिर गरेका छन्। केसीले बयान दिएअनुसार, मन्त्रिपरिषदमार्फत केही निर्णय गराउन त्यो रकमको चलखेल भएको थियो।
चेक दिन जाँदा गरेको कुराकानीको अडियो उनले प्रहरीलाई उपलब्ध गराएका थिए। अडियोमा केसीले मन्त्रिपरिषद्बाट निर्णयहरु भए/नभएकोबारे सोधेका छन्। त्यसक्रममा केसीलाई आश्वस्त पार्नसमेत खोजिएको छ। तर, झाले भने त्यो अडियो पनि आफ्नो नभएको भन्दै परीक्षण गर्न तयार भएको भनेका छन्।