पाँचथरमा ग्रिनेट विष्फोटमा परेका ३ बालबालिका मध्ये दाजु वहिनीको मृत्यु

विराटनगर– पाँचथरमा विहिबार अज्ञात बस्तु विष्फोटमा परेर घाईते भएका ३ बालबालिका मध्ये २ जनाको मृत्यु भएको छ। मृतक दाजुवहिनी हुन।
फालेलुङ गाउँपालिका–५ प्राङवुङ निवासी दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र छोरी अढाई वर्षीया छोरी प्रिन्साको मृत्यु भएको हो। बिहीबार दिउँसो खेल्ने क्रममा विष्फोटमा परी ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन तथा दिप्सन र प्रिन्सा घाइते भएका थिए। तत्कालै पाँचथर अस्पताल हुँदै थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो।
उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम र दिप्सनको राती १ वजे बीएन्डसी अस्पताल झापामा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको छ।
पवनले ‘खेल्ने क्रममा डल्लो आकारमा बस्तु भेटिएको र त्यही सामग्री पड्किएको’ बताएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले भने उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने बताए। ग्रिनेड कहिले र कसले राख्यो भन्ने खुलेको छैन।
विस्फोट भएको घरका धनी आइतराज माओवादी कार्यकर्ता हुन्। त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ। द्वन्दकालमा लुकाइएको बम अहिले विष्फोट भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्।