सफाईका विषयमा विवाद हुँदा वेल्चाले हानेर एक कर्मचारीले गरे अर्को कर्मचारीको हत्या

जनकपुर– धनुषाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश कुमार वर्माको हत्या भएको छ।
डिपोमा कार्यरत अर्का कर्मचारी प्रकाश यादवले आज विहान बेल्चाले हानेर वर्माको हत्या गरेका हुन।
सिरहाको सिरहा नगरपालिका–३, मखनाहाका वर्माको हत्या आरोपमा प्रहरीले धनुषाको सबैला नगरपालिका १० का यादवलाई पक्राउ गरेको छ। मृतक बर्मा बिगत ४ वर्षदेखि निगमको महेन्द्रनगरस्थित डिपोमा करारमा काम गर्दै आएका थिए।
स्रोतका अनुसार सरसफाईको विषयमा वर्मा र यादवबीच हिजो कार्यालयमै विवाद भएको थियो। सोही निहुँमा उनको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।
मृतक वर्मा क्लिकमाण्डु डटकमका बरिष्ठ उपसम्पादक राजेश वर्माका भाई हुन्। घटनाबारे पत्रकार वर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जागिरको क्रममा सहमति असहमति हुन्छ, तर असहमति हुँदैमा कसैको ज्यान नै लिनु निक्कै ठूलो अपराध हो। आज मेरो आफ्नो भाई यो संसारमा रहेन।’