आपराधिसँग मिलेर पैसा कमाउने इन्स्पेक्टर जिम्मेवारी मुक्त, अनुशन्धानका लागि मोवाईल खोसियो

काठमाण्डौं– ललितपुरको प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई जिम्मेवारीबाट हटाइएको छ। आपराधिक समूहसँग मिलेर पैसा असुलेको आरोपमा उनलाई बुधबार जिम्मेवारी मुक्त गरिएको हो।

काठमाडौं उपत्यका प्रमुख एआईजी किरण बज्राचार्यले यो कुराको पुष्टि गरेकी छिन्। यस्तै, सोही घट्ना र लेनदेनमा संलग्न अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई आपराधिक लाभ सम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए।

घटनाको अनुसन्धानका लागि ललितपुर परिसरका डीएसपी नरहरि अधिकारीको कमाण्डमा ५ सदस्यीय समिति बनाइएको छ। समितिलाई जतिसक्दो चाँडो रिपोर्ट बुझाउन भनिएको छ। प्रहरी स्रोतका अनुसार छानबिन समितिले इन्स्पेक्टरको मोबाइलसमेत नियन्त्रणमा लिइसकेको छ।

घट्ना विवरण अनुसार भैँसेपाटी प्रभागले गत ७ असोजमा एक व्यवसायीलाई शान्ति सुरक्षासम्बन्धी मुद्दामा पक्राउ गरी थुनामा राखेर बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख लेनदेन गरेर छाडेको खुलेको छ। यो घट्ना पूर्वनियोजित र प्रहरीको संलग्नतामै भएको खुलेपछि प्रहरीले अनुशन्धान प्रकृया सुरु गरेको हो।

केही महिनाअघि सुनसरीमा चिनजान भएकी एक युवतीले ती व्यापारीलाई भैँसेपाटीमा भेट्न बोलाएकी थिईन। त्यहाँ पुगेलगत्तै प्रहरीले उनलाई पक्राउ गरी भैँसेपाटी प्रभाग लग्यो। उनलाई हिरासतमा राखेर प्रहरीले नै बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ सुरु गरेको पाईएको छ।

अनुसन्धानमा खटिएका अधिकारीहरूका अनुसार भेट्न बोलाएकी युवतीले ब्यापारीसँग ६० लाख रुपैयाँ मागेकी थिईन। निकै लामो रस्साकस्सीपछि ३० लाख रुपैयाँमा सहमति हुन्छ। युवतीसँग घुम्न गएको विषय वाहिर आए बईजत हुने र बलात्कारको मुद्दा लगाई दिए घुम्न गएकै प्रमाणले पनि आफु फस्ने डरले पैसा बुझाउन तयार भएका थिए।

यो लेनदेनको बार्गेनिङ प्रहरी अधिकारीकै अगाडि भएको प्रारम्भिक छानबिनमा देखिएको छ। ३० लाखमध्ये ब्यापारीले २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा गरिदिएको र १० लाखको चेक दिएको पाईएको छ। त्यसपछि व्यापारी प्रहरी हिरासतबाट छुटेका थिए।

जिल्ला प्रहरी परिसरले यस वारेमा जानकारी पाएपछि व्यापारीसहित सबैलाई परिसरमा पठाउन निर्देशन दिएको थियो। प्रारम्भिक सोधपुछमै घटना हनी ट्रयापिङ भएको र त्यसमा प्रहरीले सहयोग गरेको खुलेपछि दुईजनालाई परिसरले थुनामा राखेर अनुसन्धान अघि बढाएको हो।

युवतीले लिएको चेकसमेत बरामद भएको छ भने पैसा हालिएको खातासमेत रोक्का राखिएको छ। घटनाका एक योजनाकार फरार छन्। ती व्यक्तिलाई भगाउनसमेत भैँसेपाटी प्रभागको भूमिका देखिएको छ।

प्रारम्भिक छानबिनमै प्रभागकी इन्स्पेक्टर शाहीको मिलेमतो देखिएको छ। सुरुमा शान्ति सुरक्षासम्बन्धी ठाडो निवेदनका नाममा उनले ती व्यापारीलाई थुनामा राखेकी थिइन्। नियमानुसार ठाडो निवेदनका आधारमा थुनामा राख्न पाइँदैन। अर्कोतर्फ लेनदेनको डिलसमेत प्रभागभित्रै भएको देखिएको छ। पक्राउ गरिएका व्यक्तिको गाडी फिर्ता गर्नसमेत डेढ लाख रुपैयाँ घुस लिएको प्रहरी स्रोत बताउँछ।

घटनामा प्रहरीको समेत मिलेमतो देखिएमा उनीहरूलाई समेत मुद्दा चलाउने तयारी छ। हनी ट्रयापमा फसाउने समूहले प्रहरीसँग छलफल गरेर नै योजना बनाएको देखिएको छ। बलात्कार मुद्दा भए पनि घटनास्थल सुनसरी भएको र आरोपी भनिएका युवकसमेत भैँसेपाटीको क्षेत्रमा नबस्ने भएकाले त्यो कार्यालयमा किन उजुरी दिन लगाईयो भन्ने विषय समेत शंकाको घेरामा छ।

प्रभागकी इन्स्पेक्टर शाहीले घटनाको विषयमा परिसरलाई समेत जानकारी नगराएको पाईएको छ। प्रहरी स्रोतका अनुसार ठाडो निवेदनमा छलफल गराउनु पर्ने भएमा परिसरको निर्देशन पछि मात्र गराउन पाईने प्रावधान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट