झापामा बसको ठक्करबाट एकै परिवारका २ जनाको मृत्यु भएपछि अवरुद्ध राजमार्ग १२ घण्टापछि सुचारु

दमक– झापामा रात्रीबसको ठक्करबाट बुधबार साँझ एकै परिवारका दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग १२ घण्टापछि सञ्चालनमा आएको छ।

स्थानीय प्रशासन र पीडित पक्षबीच ४ बुँदे सहमति भएपछि विहिबार बिहान ५ बजेदेखि राजमार्ग सञ्चालनमा आएको हो। गएराति ९ बजेदेखि विहिबार बिहान साढे २ बजेसम्म कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, वडाध्यक्ष अग्नी कोइराला, पीडित परिवार र स्थानीय प्रशासनका प्रतिनिधिवीच छलफल भएको थियो।

छलफलमा पीडितलाई अधिकतम क्षतिपूर्ति दिलाउन प्रयत्न गर्ने, जनप्रतिनिधि र स्थानीय प्रशासनले चालकलाई कार्वाहीको सिफारिस गर्ने, त्रिपक्षीय सहमतिलाई कार्यान्वयन गर्ने र कानुनी प्रकृया पुरा गर्न भइरहेको अवरोध हटाउने सहमति भएको छ।

सहमतिपपछि प्रहरीले मुचुल्का गरेर मृतकको शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाएको छ। त्यसपछि बिहान ५ बजेदेखि पूर्वपश्चिम राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नं को रात्रिबसले बुधबार साँझ कमल गाउँपालिका–३, केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा टेकबहादुर इजम (६०) र उनकी नातिनी कृपा इजम (९) को घट्नास्थलमै मृत्यु भएको थियो।

घट्नापछि स्थानीयवासी र आफन्तले बस तोडफोड गेका छन्। आगो लगाउने प्रयास भएपछि क्षतीग्रस्त बस प्रहरी चौकी केर्खामा राखिएको छ। त्यसपछि आक्रोशित भिडले प्रहरी चौकी केर्खामा ढुंगामुढा गरेका थिए भने केर्खा बजारमा रहेको प्रहरी बिटमा आगजनी गरिएको थियो।

स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले जनपद प्रहरीले १५ र सशस्त्र प्रहरी बलले १४ सेल गरी २९ सेल अश्रुग्यास प्रहार गरेको थियो। स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीका ५ र सशस्त्र प्रहरी ५ जवान घाईते भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट