रवि लामिछानेको बैंक स्टेटमेन्ट अस्वाभाविक देखिएपछि सम्पत्ति शुद्धीकरणमा पनि अनुशन्धान

काठमाडौँ– सहकारी ठगी एवं संगठित अपराध मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि आकर्षित भएको छ।
अनुसन्धान गर्दै जाँदा लामिछानेविरूद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान आवश्यक रहेको बताएको छ। विहिबार म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा प्रहरीले यस्तो जनाएको हो।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले २२ माघमा दिएको सहकारी ठगी सम्बन्धी जाहेरीका आधारमा लामिछानेलाई २ कात्तिकमा प्रहरीले काठमाडौँमा पक्राउ गरी कास्की लगेको हो।
सहकारी ठगी र संगठित अपराधसँगै लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनका आधारमा पनि अनुसन्धान भइरहेको कास्की प्रहरीका डिएसपी वसन्त शर्माले जानकारी दिए। तर लामिछानेलाई किन संगठित अपराध मुद्दामा अनुसन्धान थालियो भन्नेबारे बताउन चाहेनन्।
लामिछानेविरूद्ध अनुसन्धान र बयानमा लागेकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले सहकारी ठगी र संगठित अपराध मुद्दामा प्राप्त प्रमाणका आधारमा सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नुपर्ने आवश्यकता देखाएको बताइन्।
रवि लामिछानेको बैंक स्टेटमेन्ट कारोबार हेर्दा अस्वाभाविक देखियो। यत्तिका पैसा कहाँबाट आयो र कहाँ गयो भनेर सम्पत्ति शुद्धीकरण ऐन अनुसार अनुसन्धान थालेकोको उनले बताईन। गोर्खा मिडिया प्रालिमा लामिछानेले १५ प्रतिशत सेयर खरिद गर्दा कहाँबाट पैसा आएको थियो र उक्त सेयर बिक्री गरेको पैसा कहाँ राख्नुभयो भनेर पनि अनुसन्धान हुने काफ्लेले बताइन्।
मुख्यतः आपराधिक लाभबाट प्राप्त भएको सम्पत्ति हो कि होइन भनेर हेर्न सम्पत्ति शुद्धीकरण ऐन अनुसार अनुसन्धान गर्नुपर्ने देखिएको उनको भनाई छ। लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिले चलाएको ग्यालेक्सी टेलिभिजनका सञ्चालक र प्रबन्ध निर्देशकका रूपमा कार्यरत थिए।
सहकारीबाट अवैध रूपमा टेलिभिजनमा लगानी गरेर सर्वसाधारणको बचत अपचलन गरेको मुद्दा लामिछानेमाथि छ। टेलिभिजन सञ्चालन गर्न लगानी गरिएको रकमको स्रोत पनि प्रबन्ध निर्देशकले हेर्नुपर्ने काफ्लेले बताइन्।
०७७ चैतमा पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट पैसा गएको एक सातापछि लामिछानेले टेलिभिजनको १५ प्रतिशत संस्थापक सेयर लिएका थिए। सेयर होल्डर ढिलो भए पनि कम्पनीको संयुक्त बैंक खाता भने त्यसअघि देखि नै (असोजमै) खोलिएको थियो।
ग्लोबल आइएमई बैंकमा कम्पनीको संयुक्त खाता जिबी राई, छविलाल जोशी र रवि लामिछानेको संयुक्त नाममा असोजमै खोलिएको देखिन्छ। बैंक खाता खोल्दा नै हामी स्वच्छ लगानी गरेर कम्पनी चलाउँछौं। आपराधिक लगानी गर्दैर्नौं भनेर कागजातमा हस्ताक्षर गर्नुपर्ने कानुन छ। यसबारे म जानकार छैन भनेर छुटकारा पाइँदैन।