५ वटा भ्रष्टाचार मुद्दामा एकसाथ सफाई, ६ महिना नपुग्दै पौने लाख घुससहित फेरी पक्राउ
जनकपुर– ६ महिनाअघि विशेष अदालतबाट एकै पटक ५ वटा भ्रष्टाचार मुद्दामा सफाइ पाएका एक जना राष्ट्रसेवक (सरकारी कर्मचारी) फेरी रंगेहात पक्राउ परेपछि अहिले चर्चाको विषय बनेको छ।
ती कर्मचारी हुन– बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले बिहीबार घुसको पौने लाख रुपैयाँसहित पक्राउ गरेको हो।
उनको साथबाट सेवाग्राहीसँग घुस वापत लिएको ७८ हजार रूपैयाँ वरामद भएको अख्तियारको कार्यालयले जनाएको छ। बिल भुक्तानीको रकम दिएवापत सेवाग्राहीसँग घुस लिँदै गर्दा साहलाई अख्तियारको टोलीले कलैया उपमहानगरपालिका–४ को कार्यालय जाने बाटोमा पक्राउ गरेको हो। अख्तियार स्रोतका अनुसार उनी पैसा लेनदेनका क्रममा रंगेहात पक्राउ परेका हुन।
अख्तियार स्रोतले दिएको जानकारी अनुसार उनले गत १५ वैशाखमा विशेष अदालतबाट एकै पटक ५ वटा भ्रष्टाचार मुद्दामा सफाइ पाएका थिए। न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको थियो।
विशेष अदालतले फैसलाको पूर्ण पाठ सार्वजनिक नगर्दै साह पुनः पक्राउ परेका छन्। यो विषय कर्मचारी वृत्तिमा ब्यापक चर्चा छ। आव ०७७÷७८ मा सिम्रौनगढ नगरपालिका–९, बारास्थित बसबरियादेखि अमरपुर जाने बाटोमा ग्राभेल गर्ने योजनामा १० लाख ८ हजार ९ रूपैयाँ घुस खाएको आरोपमा अख्तियारले साह विरुद्ध पहिलो मुद्दा ३ जेठ ०८० मा दर्ता भएको थियो।
उपभोक्ता समितिको मिलेमतोमा गर्दै नगरेको कामको बिलभरपाई बनाएर खाएको आरोप उनीमाथि थियो। विशेष अदालतमा मुद्दा दायर भएसँगै ३ जेठ ०८० मा उनी निलम्बनमा परे। त्यसको दुई महिना नपुग्दै अख्तियारले साह विरुद्ध अरु ४ वटा मुद्दा थप्यो।
सिम्रौनगढ नगरपालिकाका–३ मा सामुदायिक भवन निर्माण, नयकाटोलमा बर्थिङ सेन्टर निर्माण लगायतका योजना करिव ५५ लाख रुपैयाँको भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दर्ता भए। ती सवै मुद्दामा १७ वैशाखमा एकसाथ उनले सफाइ पाए।
भएभरका सवै मुद्दामा सफाई पाएपछि २५ साउन ०८१ मा कार्यालयमा हाजिर भएका फेरी पक्राउ परेका हुन।