एमाले मुख्यालयमा दुई पक्षबीच खुकुरी ताकाताक, यसरी छताछुल्ल भयो शेर्पा र भोटेको दुस्मनी

काठमाडौँ – नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा शनिबार दुई पक्षबीच खुकुरी ताकाताक भएको खुलासा भएको छ।
पार्टी सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा र महासचिव पेम्बा भोटे पक्षको टकरावका कारण खुकुरी झिकेर एक अर्कालाई तर्साउने काम भएको प्रत्यक्षदर्शीले बताएका छन्।
जानकारी अनुसार च्यासलमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली सहभागी हुने गरी महासंघको वैठक बोलाईएको थियो। तर, पहिलादेखि नै सत्रुतापूर्ण ब्यवहार गर्दै आएका शेर्पा र भोटे पक्षबीच वैठक अघि नै विवाद भयो।
स्रोतका अनुसार केही समयअघि शेर्पा पक्षले महासचिव भोटेलाई कारबाही गर्दै जिम्मेवारीविहीन बनाएको थियो। त्यसपछि भोटेपक्ष शेर्पासँग रुष्ट छ। शनिवार बोलाइएको महासंघको बैठकमा भोटेले महासचिवकै हैसियतमा सहभागीता जनाउन खोजेपछि तनावपूर्ण अवस्था भएको जनाईएको छ।
विवाद बढ्दै गएपछि अध्यक्ष शेर्पाको गाडीबाट खुकुरी निकालेर अर्को पक्षलाई देखाइएको थियो। त्यसपछि खुकुरी निकाल्ने र खोसाखोस गर्ने क्रम निकैवेर चलेको थियो। ओली पुगेपछि बैठक औपचारिक रुपमा सुरु भए पनि कुनै निर्णय नै नगरी सकिएको थियो।
बैठक सुरु गर्दै ओलीले दुवै पक्षलाई समझदारीका साथ अघि बढ्न र शनिबार कुनै निर्णय नगर्न निर्देशन दिएका थिए। महासंघका एक नेताका अनुसार ओलीले आइतबार साँझ दुवै पक्षका नेताहरुलाई छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन्।