मन्त्रिको मिलेमतोमा जापानमा मानव तस्करीः उदयपुरका भट्टराई दाजुभाई मुख्य योजनाकार

काठमाडौँ– कोशी प्रदेशका मन्त्रीसहितको मिलेमतोमा जापानमा मानव तस्करी गर्ने योजनाका मुख्य योजनाकार उदयपुरका दिवाकर भट्टराई र उनका भाइ कृष्ण भट्टराई रहेको खुलासा भएको छ। दाजुभाईसहित गिरोहका मुख्य तीन ब्यक्ति अहिले फरार छन्।

प्रहरीका अनुसार दिवाकर अमेरिका वस्छन्। उनलाई जापानमा हुने ‘इन्टरनेसनल कन्फरेन्स अन ओपन ऐसस टु कल्चर २०२४’का बारे जानकारी थियो। रजिस्ट्रेसन शुल्क तिरेपछि त्यहाँबाट निमन्त्रणा प्राप्त हुने भएकाले त्यही कार्यक्रमको आवरणमा मानव तस्करी गर्ने योजना बनेको थियो।

प्रहरी स्रोतका अनुसार जापानमा हुने कार्यक्रमका लागि सामान्य व्यक्तिलाई भिसा नलाग्न सक्ने भएकाले तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई मोहोरा बनाईएको खुलेको छ। उनको संलग्नताका विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ।

प्रहरी अनुशन्धानमा खुले अनुसार मन्त्रीको भ्रमणका आवरण मानव तस्करी गर्ने योजना बनेपछि मन्त्रीका नाममा जापानबाट निमन्त्रणा पत्र मगाईएको थियो। मन्त्री नै जाने भएपछि उनको टिममा बाँकीलाई मिसाएर लाने योजना अनुसार नै प्रकरण सुरु भएको देखिएको छ।

योजना बनिसकेपछि उनीहरुले धादिङका महेश पाण्डेलाई सम्पर्क गरेका थिए। मोरङका गोपाल भन्ने योगराज गौतम पाण्डका साथी हुन। महेश, गोपाल र कृष्ण मिलेर यताको सवै प्रपञ्च मिलाएको अनुशन्धानमा खुलेको छ।

योजना अनुसार पाण्डेले जापान जानेहरुसँग प्रतिब्यक्ति १० देखि १३ लाखसम्म लिइसकेका थिए। तत्कालीन मन्त्री अधिकारीको टिकट तथा होटेल बुकिङको खर्च पनि उनैले गरेका हुन। मन्त्रीसहितको भिसाका लागि कृष्णले सबै कागजपत्र तयार गरेका थिए।

गौतम अधिकारीसँग सेटिङमा लागेका थिए। दूतावासलाई झुक्याउन सोही मन्त्रालय र स्थानीय तहको नक्कली परिचयपत्र बनाइएको थियो। यता, जाने वेलामा पाण्डेले ३ युवालाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अधिकारीसँग भेट्न भनेका थिए। तर, मन्त्रीको हैसियतमा उनी विमानस्थल जाने वित्तिकै विशिष्ट कक्ष (भीआईपी रुम) मा प्रवेश गरिहाले। त्यसैले उनीहरुको भेट हुन पाएन।

त्यसपछि उनीहरुले हङकङमा गएर अधिकारीलाई भेटेको खुलेको छ। उनीहरुलाई अधिकारीको फोटो पठाएर यो मान्छेसँगै जाने हो भनिएको थियो। यसरी अधिकारीसँग गएकामध्ये शेर्पा ट्रेकिङ व्यवसायी हुन। उनका भाइ जापानमै छन्। देवकोटा स्नातक तह अध्ययन गरिरहेका व्यक्ति हुन्।

नारिता विमानस्थलमा पुगेपछि त्यहाँका अध्यागमन अधिकारीहरुलाई पनि शंका लागेपछि तत्कालीन मन्त्रीसहित चारै जना होल्डमा परे। लामो केरकारपछि १४ कात्तिकमा चारै जना नेपाल फर्काईएका हुन।

नेपाल फर्किएपछि पक्राउ परेका तीन जना युवाले भने आफूहरु ठगिएको दाबी गरेका छन्। प्रहरीसँग बयान दिने क्रममा आफूहरुलाई वैधानिक हिसाबले लाने भनिएपछि रकम र कागजात बुझाएको उनीहरुले दावी गरेका छन्।

पूर्वमन्त्री अधिकारीले भने आफूसँगै तीन जना जापान गएको भन्ने हङकङ पुगेर मात्र थाहा पाएको दाबी गरेका थिए। यद्यपि, प्रहरी अनुसन्धानका क्रममा जापान गएका देवकोटा र अधिकारीको टोकियोमा एउटै होटलमा कोठा बुकिङ रहेको फेला परेको छ।

यो प्रकरणमा हालसम्म निवर्तमान मन्त्री अधिकारी, धादिङ त्रिपुरासुन्दरी गापा– ६ का महेश पाण्डे, नुवाकोटको विदुर नपा– ७ का जुगल रिजाल र दोलखाको जिरी नपा– ९ का वीरबहादुर सुनुवार, खोटाङ ऐँसेलुखर्क गापा– २ का दावा शेर्पा, खोटाङकै केपिलासगढी गापा– ४ का जनक राई र रसुवा कालिका गापा– ५ का कञ्चन देवकोटा पक्राउ परेका छन्।

प्रहरीले भट्टराई दाजुभाईसहित गिरोहका अन्य मुख्य तीन व्यक्तिलाई खोजिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट