मधेशका गृहमन्त्रीलाई नै पैसाका लागि भुमिगत समुहको धम्की

जनकपुर– भुमिगत समुह जनतान्त्रिक तराई मुक्तिमोर्चाका संयोजक जयकृष्ण गोईतको नामबाट मधेशका गृहमन्त्रीलाई नै पैसाका धम्की आएको छ।

गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आफूलाई गोईतको नामबाट धम्की आइरहेको दाबी गरेका छन्। भारतमा रहेका गोईतको नामबाट ‘विरामी छु। खर्च चाहियो। पैसा पठाउ’ भन्दै फोन आएको उनले बताए।

शुक्रबार मन्त्रालयमै पत्रकार सम्मेलन गरेका लेखीले धम्की आएको विषय आफुले मुख्यमन्त्री र मधेश प्रहरी प्रमुखलाई पनि बताएको जानकारी गराए। सुरक्षा निकायबाट यस विषयमा अन्य मन्त्रीहरूलाई समेत धम्की आईरहेको सूचना पाएको उनको भनाइ छ।

बिहीबार गृह तथा सञ्चार मन्त्रालयमा बसेको प्रदेश सुरक्षा समितिको बैठकमा पनि मन्त्री लेखीले धम्कीको विषय उठाएका थिए। सोही वैठकमा अनुसन्धानका प्रहरी अधिकारीले अन्य पनि केही मन्त्रीले यस्तो धम्की आउने गरेको खुलाएको बताएका थिए।

तर, मन्त्री लेखीले यस विषयमा केही पनि जानकारी नदिएको एक प्रहरी अधिकारीको दाबी छ। ‘धम्की आएको विषयमा प्रहरीलाई जानकारी दिएर अनुसन्धानमा लगाउनुपर्ने हो। बैठकमा कुरा उठाउनु भएको थियो। तर प्रहरीलाई काममा लगाउनुको सट्टा पत्रकार सम्मेलन गर्नुभो।’– उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट