बोक्सी आरोपको कसुरमा ९ महिना कैद सजाय भएका उप्रेती ३ वर्षपछि पक्राउ
जनकपुर– बोक्सीको आरोप लगाएर महिलालाई दुर्व्यवहार गरेको कसुरमा सर्लाही जिल्ला अदालतले ९ महिना कैद गर्ने फैसला सुनाएपछि फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
लालबबन्दी नगरपालिका–५, का ३७ वर्षीय नारायणप्रसाद उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो। उप्रेतीलाई सर्लाही जिल्ला अदालतले २ पुस ०७८ मा दोषी ठहर गर्दै ९ महिना कैद, १० हजार जरिवाना र पीडितका लागि ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो।
थुनछेक वहसका क्रममा उनी धरौटी बुझाएर हिरासतमुक्त भएका थिए। मुद्दाको फैसला आउँदा दोषी ठहर भएर जेल वस्नु पर्ने भएपछि उनी फरार भएका थिए।
पक्राउ परेका उप्रेतीलाई कैद, जरिवाना असुलका लागि मलंगवा कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर सुजन पाठकले बताए।
प्रतिक्रिया

